कर्णाली । कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ। बैठकमा मुख्यमन्त्री मङ्गलबहादुर शाहीले विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ।
मुख्यमन्त्री शाहीले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव गत सोमबार प्रदेशसभा सचिवालयमा दर्ता गराइसकेका छन्। नेकपा एमालेको समर्थनमा उनी गत साउन १२ गते कर्णालीको मुख्यमन्त्री नियुक्त भएका थिए।
सरकार गठनपछि दुई दलबीच मन्त्रालयको जिम्मेवारी बाँडफाँडमा सहमति जुटाउन समय लाग्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। मुख्यमन्त्री शाहीले भने प्रदेशसभाबाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको बताएका छन्।
४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकारलाई बहुमत सिद्ध गर्न कम्तीमा २१ मत आवश्यक पर्छ। प्रदेशसभामा नेपाली कम्युनिष्ट पार्टीका १४ र नेकपा एमालेका १० सदस्य छन्।
त्यस्तै, नेपाली कांग्रेसका १५ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका एक प्रदेशसभा सदस्य छन्। एमालेको समर्थन कायमै रहेमा मुख्यमन्त्री शाहीलाई विश्वासको मतका लागि आवश्यक बहुमत जुट्ने देखिन्छ।