काठमाडौं । नेपाल र भारतबीच सुरक्षा तथा सीमा व्यवस्थापनका विषयमा छलफल गर्न गठित संयुक्त कार्यसमूहको १४औँ बैठक भारतको देहरादुनमा बस्दैछ।
बिहीबार र शुक्रबार दुई दिन सञ्चालन हुने बैठकमा नेपाल र भारतका गृह तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी हुनेछन्। बैठकमा दुवै देशबीचको सुरक्षा सहकार्य र सीमा व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
बैठकमा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले गर्नेछन्। भारतीय पक्षबाट सम्बन्धित मन्त्रालय तथा सुरक्षा निकायका अधिकारीहरूको सहभागिता रहनेछ।
नेपाल–भारतबीच सुरक्षा समन्वय र सीमा व्यवस्थापनका विषयमा नियमित छलफल तथा सहकार्यका लागि संयुक्त कार्यसमूह गठन गरिएको हो। कार्यसमूहको बैठकमा दुई देशबीचको सुरक्षा सहकार्यलाई थप प्रभावकारी बनाउने तथा सीमा क्षेत्रमा देखिने समस्या समाधानका विषयमा छलफल हुँदै आएको छ।
यसअघि संयुक्त कार्यसमूहको १३औँ बैठक नेपालको पोखरामा सम्पन्न भएको थियो। त्यस बैठकमा भएका छलफल तथा सहमतिका विषयलाई समेत निरन्तरता दिँदै आगामी बैठक अघि बढ्ने बताइएको छ।