२०८३, आश्विन १ गते

Sep 17 2026

स्थानीय चुनावको तयारीमा रास्वपा, उम्मेदवार छनोटको मापदण्ड टुंग्याउँदै

स्थानीय चुनावको तयारीमा रास्वपा, उम्मेदवार छनोटको मापदण्ड टुंग्याउँदै

रोज नेपाल
शुक्रवार, भाद्र ५ २०८३
रोज नेपाल
शुक्रवार, भाद्र ५ २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज शुक्रबार बस्दैछ। पार्टीको केन्द्रीय कार्यालय घन्टीघर, वनस्थलीमा बिहान ११ बजे बैठक सुरु हुने बताइएको छ।

    सभापति रवि लामिछानेको निर्देशनमा महामन्त्री विपीनकुमार आचार्यले बैठक आह्वान गरेका हुन्। आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पार्टीको संगठन विस्तार तथा आन्तरिक व्यवस्थापनका विषय बैठकका प्रमुख एजेन्डा रहेका छन्।

    बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी ‘उम्मेदवार छनोट रूपरेखा–२०८३’ अनुमोदन गर्ने तयारी गरेको छ। उक्त रूपरेखामार्फत उम्मेदवार चयनको प्रक्रिया, मापदण्ड र विधिलाई व्यवस्थित गर्ने पार्टीको योजना छ।

    त्यस्तै, रास्वपाले लामो समयदेखि उठाउँदै आएको ‘राइट टु रिकल’ अर्थात् निर्वाचित जनप्रतिनिधिलाई कार्यकाल पूरा हुनुअघि फिर्ता बोलाउन सकिने व्यवस्थासम्बन्धी दस्तावेज तयार गर्ने विषय पनि छलफलमा राखिएको छ। त्यसका लागि आवश्यक कानुनी तथा राजनीतिक आधार तयार पार्ने विषयमा बैठकले निर्णय गर्न सक्नेछ।

    संगठनतर्फ रिक्त रहेका तथा थप गर्नुपर्ने पदमा मनोनयन गर्ने विषय पनि बैठकको कार्यसूचीमा छ। केन्द्रीय समिति र पदाधिकारी, सचिवालय तथा विभिन्न विभागका जिम्मेवारी बाँडफाँटसम्बन्धी प्रस्तावमाथि पनि छलफल हुनेछ।

    स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन गरी त्यसका सदस्य मनोनयन गर्ने प्रस्तावसमेत बैठकमा प्रस्तुत हुने बताइएको छ।

    पार्टीले उम्मेदवार छनोटको प्रक्रिया र विधिबारे कार्यकर्तालाई जानकारी गराउन केन्द्रीय सदस्य तथा सांसदको नेतृत्वमा देशभर प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ।

    यसैगरी, पार्टीका आधिकारिक धारणा, गतिविधि र राजनीतिक सामग्रीलाई नियमित रूपमा सार्वजनिक गर्ने उद्देश्यले ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने विषयमा पनि बैठकबाट निर्णय हुने सम्भावना रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij