रौतहट । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर भइरहेको आन्दोलन पाँच बुँदे सहमतिपछि तत्कालका लागि स्थगित भएको छ।
पीडित परिवार, आफन्त, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र जिल्ला सुरक्षा समितिबीच बिहीबार राति पथलैयास्थित सशस्त्र प्रहरी बल, नेपाल प्राविधिक तालिम शिक्षालयमा भएको वार्तामा सहमति जुटेपछि आन्दोलनका कार्यक्रम रोकिएका हुन्।
वार्ताबाट भएको सहमतिअनुसार पीडित परिवारलाई राहत तथा रोजगारीको व्यवस्था गर्न गृह मन्त्रालयसमक्ष सिफारिस गरी आवश्यक पहल गरिनेछ। यसका लागि स्थानीय तहले समेत समन्वय गर्ने सहमति भएको छ।
घटनामा पक्राउ परेका तथा हिरासतमा रहेका संदिग्धमाथिको अनुसन्धानलाई निरन्तरता दिने र अनुसन्धानका क्रममा अन्य व्यक्तिको संलग्नता खुले उनीहरूमाथि समेत प्रचलित कानुनअनुसार कारबाही अघि बढाउने सहमति भएको छ।
त्यसैगरी, जिल्लामा हाल देखिएका तथा आगामी दिनमा आउन सक्ने सुरक्षा चुनौतीको समीक्षा गरी नागरिकले विश्वसनीय सुरक्षा वातावरण महसुस गर्ने अवस्था निर्माण गर्ने जिम्मेवारी जिल्ला सुरक्षा समितिले लिने भएको छ।
घटनाको अनुसन्धान तथा बालिकाको खोजीका क्रममा इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत केही सुरक्षाकर्मीबाट लापरबाही भएको देखिए आवश्यक कारबाही गर्ने विषयलाई पनि वार्तामा सम्बोधन गर्ने सहमति भएको छ।
सहमति कार्यान्वयन गर्ने प्रतिबद्धतापछि आन्दोलनरत पक्षले सडक अवरोध, प्रदर्शनलगायतका आफ्ना सबै कार्यक्रम तत्कालका लागि स्थगित गरेको हो।
बालिका गरिमाको शव भदौ २ गते जीतपुरसिमरा–१ स्थित एक खाली घरमा फेला परेको थियो। त्यसपछि घटनालाई गम्भीरतापूर्वक अनुसन्धान गर्दै प्रहरीले संलग्न व्यक्तिको खोजी तथा पहिचानको प्रक्रिया अघि बढाएको थियो।
घटनापछि दोषीलाई पक्राउ गरी कडा कानुनी कारबाही गर्नुपर्ने माग गर्दै पीडित परिवार र स्थानीयवासीले विभिन्न चरणमा प्रदर्शन तथा सडक अवरोध गर्दै आएका थिए।
मध्यरातसम्म चलेको वार्ताबाट सहमति जुटेपछि आन्दोलन रोकिएको भए पनि पीडित पक्षले सहमति कार्यान्वयन र अनुसन्धानको प्रगतिलाई नजिकबाट नियाल्ने जनाएको छ। घटनामा संलग्न दोषीमाथि निष्पक्ष अनुसन्धान र कानुनी कारबाही हुनुपर्ने माग भने कायमै रहेको छ।