२०८३, आश्विन १ गते

Sep 17 2026

सरकारले तत्काल नोटबन्दी नगर्ने, वैकल्पिक आर्थिक सुधारमा जोड : अर्थमन्त्री वाग्ले

सरकारले तत्काल नोटबन्दी नगर्ने, वैकल्पिक आर्थिक सुधारमा जोड : अर्थमन्त्री वाग्ले

रोज नेपाल
शुक्रवार, भाद्र ५ २०८३
रोज नेपाल
शुक्रवार, भाद्र ५ २०८३
  • काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा तत्काल नोटबन्दी गर्ने सरकारको कुनै योजना नरहेको स्पष्ट पारेका छन्। उनले कालोधन नियन्त्रण तथा अनौपचारिक अर्थतन्त्रलाई औपचारिक दायरामा ल्याउने विषय महत्वपूर्ण भए पनि त्यसका लागि नोटबन्दी नै उपयुक्त उपाय नभएको बताएका हुन्।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वनस्थलीमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा सहभागीहरूले कालोधन नियन्त्रण र अनौपचारिक कारोबार घटाउन नोटबन्दीको सम्भावनाबारे प्रश्न गरेका थिए।

    जवाफमा अर्थमन्त्री वाग्लेले नोटबन्दीसम्बन्धी सुझावलाई सरकारले गम्भीरतापूर्वक लिएको भए पनि वर्तमान परिस्थितिमा यस्तो कदम चाल्नु आवश्यक नरहेको बताए।

    उनले विभिन्न देशमा विगतमा गरिएको नोटबन्दीको अनुभवबाट अपेक्षित उपलब्धि हासिल हुन नसकेका उदाहरण रहेको उल्लेख गरे। त्यसैले नेपालमा पनि नोटबन्दी लागू गर्नुअघि यसको आर्थिक तथा सामाजिक प्रभावबारे पर्याप्त अध्ययन आवश्यक हुने उनको भनाइ थियो।

    अर्थमन्त्रीका अनुसार सरकारले अहिले नोटबन्दीभन्दा अर्थतन्त्रमा रहेका संरचनागत समस्या समाधान गर्ने तथा अनौपचारिक कारोबारलाई क्रमशः औपचारिक प्रणालीमा ल्याउने नीतिगत उपायलाई प्राथमिकता दिनेछ।

    वाग्लेले नोटबन्दीबारे उठेका प्रश्नहरू सान्दर्भिक भए पनि तत्काल यस्तो निर्णय गर्ने अवस्था नरहेको दोहोर्‍याउँदै सरकारले यस विषयमा कुनै तयारी नगरेको स्पष्ट पारे।

    सरकारको पछिल्लो धारणा अनुसार कालोधन नियन्त्रण, कर प्रणालीको प्रभावकारिता र अनौपचारिक अर्थतन्त्र व्यवस्थापनका लागि अन्य नीतिगत विकल्पलाई अघि बढाउने तयारी देखिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij