काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाह मुस्ताङको खम्पा गुम्बा दर्शनका लागि निजी भ्रमणमा गएको बताएका छन्।
प्रधानमन्त्री मुस्ताङ जाँदा सुरक्षाकर्मीको टोली साथमा नरहेको विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न चर्चा भइरहेको भन्दै शाहीले त्यसलाई अनावश्यक रूपमा उठाइएको विषयका रूपमा टिप्पणी गरेका छन्।
उनका अनुसार प्रधानमन्त्रीको भ्रमण सरकारी कार्यक्रम नभई व्यक्तिगत समयको यात्रा भएकाले सुरक्षाकर्मीको ठूलो टोली साथमा हुनु अनिवार्य नहुने तर्क गरेका छन्।
शाहीले प्रधानमन्त्रीलाई पनि आफ्नो निजी समय र व्यक्तिगत जीवनमा सामान्य रूपमा हिँडडुल गर्ने अवसर दिनुपर्ने धारणा व्यक्त गरेका छन्।
उनले प्रधानमन्त्रीको व्यक्तिगत भ्रमणलाई लिएर सामाजिक सञ्जालमा भइरहेको चर्चाभन्दा उनको निजी स्वतन्त्रतालाई सम्मान गर्नुपर्नेमा जोड दिएका छन्।