काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बिहानै भृकुटीमण्डप क्षेत्रको स्थलगत अनुगमन गरेकी छन्।
मन्त्री बादी आफ्नै सचिवालय र समाज कल्याण परिषद्को टोलीसहित बिहान ७ बजे भृकुटीमण्डप पुगेकी थिइन्। उनले परिसरमा सञ्चालित विभिन्न बजार, व्यापारिक गतिविधि, प्रदर्शनीस्थल तथा सार्वजनिक संरचनाको अवस्थाबारे प्रत्यक्ष जानकारी लिइन्।
अनुगमनका क्रममा खसी तथा तरकारी बजार, गार्डेन हल, विभिन्न स्टल र प्रदर्शनी क्षेत्र, खुला तथा हरित क्षेत्र, पार्किङ, सार्वजनिक शौचालय, सरसफाइ र पैदल यात्रुका लागि उपलब्ध स्थानको निरीक्षण गरिएको थियो।
मन्त्री बादीले परिसरका संरचना कसरी प्रयोग भइरहेका छन्, व्यवस्थापनको अवस्था कस्तो छ तथा त्यहाँबाट हुने व्यापारिक गतिविधि र आम्दानीबाट राज्य तथा नागरिकले कस्तो लाभ पाइरहेका छन् भन्ने विषयमा सम्बन्धित अधिकारीसँग जानकारी लिएकी थिइन्।
उनले भृकुटीमण्डपलाई हालकै स्वरूपमा सीमित नराखी उपलब्ध जग्गा तथा संरचनाको व्यवस्थित र प्रभावकारी उपयोग गर्न आवश्यक अध्ययन अघि बढाउन निर्देशन दिइन्। उनका अनुसार भृकुटीमण्डपलाई सुरक्षित, स्वच्छ, हरित, समावेशी र नागरिकमैत्री सार्वजनिक केन्द्रका रूपमा विकास गर्ने सम्भावना छ।
मन्त्री बादीले बालबालिका, महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि सहज हुने पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताइन्। साथै व्यवस्थित प्रदर्शनीस्थल, खुला क्षेत्र, सार्वजनिक पुस्तकालय, सामाजिक सेवाका संरचना, पार्किङ तथा फोहोर व्यवस्थापनलाई समेत भावी योजनामा समेट्न उनले निर्देशन दिइन्।
भृकुटीमण्डपको विकासका विषयमा विगतमा तयार भएका अध्ययन, योजना तथा डीपीआरहरूको समेत समीक्षा गरी वर्तमान आवश्यकता र सम्भावनाका आधारमा नयाँ कार्यदिशा तय गर्नुपर्ने उनको भनाइ छ।
सार्वजनिक सम्पत्तिको संरक्षणसँगै त्यसको पारदर्शी र प्रभावकारी उपयोग हुनुपर्नेमा जोड दिँदै मन्त्री बादीले सरकारी सम्पत्ति जोगाएर मात्र नहुने र त्यसबाट सर्वसाधारणले प्रत्यक्ष लाभ पाउने वातावरण निर्माण गर्नुपर्ने बताइन्।
प्रस्तावित अध्ययनमा भृकुटीमण्डपभित्रका बजार तथा व्यापारिक गतिविधि, प्रदर्शनी, सार्वजनिक सेवा, भौतिक पूर्वाधार, सरसफाइ, पार्किङ, वातावरणीय अवस्था, नागरिकको पहुँच, आर्थिक सम्भावना र दीर्घकालीन व्यवस्थापनलगायत विषयलाई समेटिने जनाइएको छ।