काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशनसम्बन्धी प्रक्रिया तत्काल अघि नबढाउन माग गर्दै सर्वोच्च अदालतको ढोका ढकढक्याएका छन्।
देउवा र खड्काको तर्फबाट छुट्टाछुट्टै रिट सर्वोच्च अदालतमा दर्ता भएको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिएका छन्। दुवै नेताका कानुनी प्रतिनिधिमार्फत रिट दायर गरिएको बताइएको छ।
कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने गरी कार्यतालिका अघि बढाइरहेको छ। तर देउवा पक्षले पार्टीको आधिकारिकतासँग जोडिएको विवादको अन्तिम टुंगो नलागेसम्म महाधिवेशनका गतिविधि अगाडि बढाउन नहुने जिकिर गरेको छ।
उक्त विवादमा पुनः सुनुवाइ गर्न सर्वोच्च अदालतले निस्सा प्रदान गरिसकेको अवस्थामा त्यसको फैसला नआउँदै महाधिवेशन प्रक्रिया अघि बढाउनु उचित नहुने उनीहरूको तर्क छ।
यसैबीच कांग्रेसभित्र महाधिवेशनको नेतृत्वलाई लिएर आन्तरिक विवादसमेत चर्किएको छ। इतर पक्षको भेलाले गगन थापालाई सभापति स्वीकार नगर्ने निर्णय गर्दै देउवाकै नेतृत्वमा महाधिवेशन गराउनुपर्ने धारणा अघि सारेको बताइएको छ।
महाधिवेशनको मिति नजिकिँदै जाँदा पार्टीभित्रको विवाद अदालतसम्म पुगेपछि कांग्रेसको आगामी महाधिवेशन प्रक्रिया थप पेचिलो बनेको छ।