काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज देशका अधिकांश भूभागमा मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थान आसपास रहेकाले वर्षाको गतिविधि बढ्ने देखिएको हो।
महाशाखाका अनुसार अहिले देशभर सामान्यतया बादल लागेको छ। बागमती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो पनि अधिकांश क्षेत्रमा बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनुका साथै हिमपातको सम्भावना छ। तराईका विभिन्न भूभागमा समेत मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
रातिको समयमा पनि देशभर बदली रहनेछ। हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना रहँदा पहाडी र तराई क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली, पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा बाढी, पहिरो, गेग्रान बहाव र भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचना हेरेर आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।