काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई सरकारले गम्भीर रूपमा लिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् । उनले घटनामा संलग्न दोषीलाई कानुनअनुसार कडा तथा अधिकतम सजाय दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले घटनाको सुरुवातदेखि नै अनुसन्धानलाई प्राथमिकतामा राखिएको दाबी गरे । अनुसन्धानमा कुनै कमजोरी वा त्रुटि हुन नदिन सम्बन्धित निकायलाई सक्रिय बनाइएको उनको भनाइ छ ।
घटनामा संलग्न भएको आरोपमा केही व्यक्तिलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए । प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीबाटै लापरबाही भएको हुनसक्ने प्रश्न उठेपछि सम्बन्धित प्रहरी अधिकारीमाथि समेत छानबिन र आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको उनले बताए ।
घटनापछि दोषीलाई मृत्युदण्ड दिनुपर्ने मागसमेत तीव्र रूपमा उठिरहेको छ । काठमाडौंको माइतीघरलगायत विभिन्न स्थानमा प्रदर्शन तथा सामाजिक सञ्जालमार्फत नागरिकहरूले यस्तो माग अघि सारेका छन् ।
गृहमन्त्री गुरुङले मृत्युदण्डको मागप्रति आफू संवेदनशील रहेको बताए पनि नेपालको संविधानले त्यसका लागि कानुनी बाटो बन्द गरेको स्पष्ट पारे । संविधानको धारा १६(२) ले मृत्युदण्ड दिने गरी कानुन बनाउन निषेध गरेकाले तत्काल त्यस्तो सजाय दिन सक्ने अवस्था नरहेको उनको भनाइ छ ।
उनले घटनाको अनुसन्धान निष्पक्ष र प्रभावकारी रूपमा अघि बढाउँदै दोषी पहिचान गरी प्रचलित कानुनअनुसार अधिकतम सजाय दिलाउन सरकार प्रतिबद्ध रहेको दोहोर्याएका छन् ।