२०८३, आश्विन १ गते

Sep 17 2026

प्रधानमन्त्रीको कालो चस्माबारे संसद् सचिवालयमा पुग्यो स्वास्थ्य परीक्षण रिपोर्ट

प्रधानमन्त्रीको कालो चस्माबारे संसद् सचिवालयमा पुग्यो स्वास्थ्य परीक्षण रिपोर्ट

रोज नेपाल
मंगलवार, भाद्र ९ २०८३
रोज नेपाल
मंगलवार, भाद्र ९ २०८३
  • काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संसद् बैठकमा कालो चस्मा लगाउनुपर्ने विषयलाई पुष्टि गर्ने स्वास्थ्य परीक्षणसम्बन्धी कागजात संघीय संसद् सचिवालयमा बुझाइएको छ।

    संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीका अनुसार प्रधानमन्त्री शाहको आँखासम्बन्धी स्वास्थ्य परीक्षणको रिपोर्टसहितको पत्र सचिवालयमा प्राप्त भएको हो।

    यसअघि सभामुख डोलप्रसाद अर्याल (डीपी) ले संसद् बैठकमा कालो चस्मा प्रयोग नगर्न प्रमुख सचेतक तथा सचेतकमार्फत सांसदहरूलाई आग्रह गरेका थिए। स्वास्थ्य अवस्थाका कारण कालो चस्मा अनिवार्य भए त्यसको प्रमाणस्वरूप चिकित्सकीय रिपोर्ट उपलब्ध गराउनुपर्ने सभामुखको भनाइ थियो।

    सोही अनुरूप प्रधानमन्त्री शाहको स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र संसद् सचिवालयमा पुगेको हो।

    प्रधानमन्त्री शाहले गत २२ साउनमा छाउनीस्थित अस्पतालमा आँखाको परीक्षण गराएका थिए। परीक्षणका क्रममा प्रत्यक्ष रूपमा तीव्र प्रकाशमा हेर्दा समस्या देखिन सक्ने भएकाले कालो चस्मा प्रयोग गर्नुपर्ने चिकित्सकीय सुझाव दिइएको जनाइएको छ। उक्त स्वास्थ्यसम्बन्धी रिपोर्ट २६ साउनमा संसद् सचिवालयमा पठाइएको हो।

    यसबीच बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुँदैछ। कार्यक्रममा ११ जना सांसदले प्रधानमन्त्री शाहसँग विभिन्न विषयमा प्रश्न गर्ने तयारी छ।

    प्रतिनिधिसभा नियमावलीको नियम ५६ ले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरेको छ। नियमअनुसार प्रधानमन्त्री वा उहाँको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न गर्न प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा निर्धारण गर्न सकिने व्यवस्था छ।

    यही व्यवस्थाअनुसार सभामुख अर्यालले बुधबारको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय गरेका हुन्।

    नियमावलीको नियम ५७ मा यस्तो कार्यक्रमलाई सरकारी तथा अन्य सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गर्न सकिने व्यवस्था छ। त्यस्तै, नियम ५८ अनुसार प्रधानमन्त्रीलाई प्रश्न गर्न चाहने सांसदले बैठक सुरु हुनुभन्दा कम्तीमा तीन दिनअघि आफ्नो प्रश्नको विषयबारे सभामुखलाई लिखित जानकारी गराउनुपर्ने प्रावधान छ।

    सोही प्रक्रियाअनुसार सभामुखले प्रश्न दर्ताका लागि दिएको समयभित्र ११ जना सांसदले प्रधानमन्त्रीसँग सोध्ने प्रश्न दर्ता गराएका छन्।

    प्रधानमन्त्री शाह प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन संसद् भवनमा उपस्थित हुने तयारी भइरहेका बेला आँखाको स्वास्थ्य अवस्थाका कारण कालो चस्मा प्रयोग गर्नुपर्ने चिकित्सकीय प्रमाणसमेत संसद् सचिवालयमा पुगेको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij