काठमाडौं । सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम समुदायका लागि सार्वजनिक बिदा दिने भएको छ।
गृह मन्त्रालयले मंगलबार सूचना जारी गर्दै मुस्लिम धर्मावलम्बीका लागि उक्त दिन सार्वजनिक बिदा रहने जानकारी दिएको हो।
नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका दिन मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा दिने व्यवस्था छ। मुस्लिम आयोगबाट यस वर्षको मोहम्मद जयन्ती बुधबार परेको जानकारी प्राप्त भएपछि सोही व्यवस्थाअनुसार बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार बिदा मुस्लिम समुदायलाई लक्षित गरी लागू हुनेछ। यस अवसरमा गृह मन्त्रालयले देश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरूमा शुभकामना पनि व्यक्त गरेको छ।
मोहम्मद जयन्ती इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनको स्मरणमा मनाइने महत्वपूर्ण धार्मिक अवसर हो।