हेटौँडा । बागमती प्रदेशसभामा नेपाली कांग्रेसले मुख्यमन्त्री किरण थापामगरले लिन लागेको विश्वासको मतसम्बन्धी प्रक्रियाबाट आफ्ना सांसदलाई अलग रहन निर्देशन दिएको छ। मुख्यमन्त्रीको नियुक्तिसम्बन्धी विवाद अदालतमा विचाराधीन रहेकाले त्यसको टुंगो नलाग्दै विश्वासको मत लिन खोज्नु उचित नभएको कांग्रेसको भनाइ छ।
कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले सोमबार विज्ञप्ति जारी गर्दै भदौ ९ गते दिउँसो ४ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रक्रियामा सहभागी नहुन पार्टीका सबै प्रदेशसभा सदस्यलाई निर्देशन दिएका हुन्।
कांग्रेसका अनुसार मुख्यमन्त्री थापामगरको नियुक्तिलाई चुनौती दिइएको मुद्दा उच्च अदालत पाटनको हेटौँडा इजलासमा विचाराधीन छ। संविधानको धारा १९१ ले अदालतमा विचाराधीन विषयमा प्रदेशसभामा छलफल गर्न रोक लगाएको उल्लेख गर्दै कांग्रेसले मुद्दाको अन्तिम टुंगो नलागेसम्म संसद्को प्रक्रिया अघि नबढाउन यसअघि नै सभामुखको ध्यानाकर्षण गराएको थियो।
अदालतले भदौ १० गते मुद्दाका दुवै पक्षलाई छलफलका लागि बोलाएको अवस्थामा त्यसको एक दिनअघि नै विश्वासको मतको प्रक्रिया अघि बढाउन खोजिनु आपत्तिजनक भएको कांग्रेसले जनाएको छ। यस्तो कदमले अदालतको अवहेलना हुनुका साथै संसदीय र लोकतान्त्रिक मूल्यको समेत अवमूल्यन हुने कांग्रेसको दाबी छ।
कांग्रेसले सभामुखको भूमिकामाथि समेत प्रश्न उठाएको छ। सभामुखले कुनै दल वा पक्षको प्रतिनिधिका रूपमा नभई निष्पक्ष, तटस्थ र मर्यादित भूमिका निर्वाह गर्नुपर्ने उसले जनाएको छ।
मुख्यमन्त्रीको नियुक्तिसँग जोडिएको कानुनी विवाद समाधान नभएसम्म प्रदेशसभाको प्रक्रिया अघि बढाउँदा लोकतान्त्रिक अभ्यासमाथि नै प्रश्न उठ्ने कांग्रेसको निष्कर्ष छ। त्यसैले अदालतको निर्णय नआएसम्म विश्वासको मतसम्बन्धी प्रक्रिया स्थगित गर्न कांग्रेसले माग गरेको छ।