२०८३, आश्विन १ गते

Sep 17 2026

सरकारले निर्धारित समयमै चुनाव गराओस्: शंकर पोखरेल

सरकारले निर्धारित समयमै चुनाव गराओस्: शंकर पोखरेल

सोमवार, भाद्र ३० २०८२
सोमवार, भाद्र ३० २०८२
  • काठमाडौं । नेकपा (एमाले) चुनावको पक्षमा उभिने संकेत गरेको छ।

    जेन–जी प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीको क्षति अवलोकनका लागि पार्टी मुख्यालय गएका महासचिव शंकर पोखरेलले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार निर्धारित मितिमै चुनाव गराउने दिशामा अघि बढ्नुपर्ने बताएका हुन्।

    ‘यो सरकार अन्तरिम भएकाले उसको कर्तव्य चुनाव गराउने हो। शान्ति सुरक्षाको वातावरण तयार गरिकन समयमा निर्वाचन गराउने कुरामा यो सरकार ध्यान जानेछ। नेपालका सबै लोकतान्त्रिक पार्टीहरू जनतामा गएर, जनताको अभिमत प्राप्त गर्ने कुरामा प्रवेश गर्नुपर्छ,’ उनले भने।

    सधैँभरि सडक जनमत प्राप्त गर्ने माध्यम हुन नसक्ने उनले बताए।

    ‘सडक जनमत प्राप्त गर्ने माध्यम हुनु पनि हुँदैन। एउटा युगले ल्याएको परिवर्तनलाई संविधानमा संश्लेषण गरिसकेपछि परिवर्तनको आधार संविधानलाई बनाएनौं भने मुलुक कहिले पनि समृद्धि र विकासको यात्रामा अघि बढ्न सक्दैन। समाधान सधैँ सडकबाट खोज्ने हो भने स्थायित्व र विकास सम्भव हुँदैन,’ उनले भने।

    कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने बताएको छ।

    महासचिव पोखरेलले भदौ २४ गतेको प्रदर्शन उग्र बन्दै नेकपा (एमाले) को पार्टी कार्यालयसहित नेता–कार्यकर्ताहरूको भौतिक सम्पत्तिमा क्षति पुर्‍याइएको बताए। उनले विध्वंशात्मक प्रदर्शनले खरानी बनाएको संरचनामाथि नै उभिएर एमालेले संविधान दिवस मनाउने पनि जानकारी दिए।

    ‘यसपटक हामी हाम्रो क्षतिग्रस्त संरचनाको खरानीमा उभिएर संविधान सभाले संविधान बनाउँदाको परिकल्पना साकार पार्ने संकल्प गर्न चाहन्छौं। ७७ जिल्लाका साथीहरूलाई निर्देशन जारी गरिसकेका छौं। काठमाडौं उपत्यकाका साथीहरूले पार्टी कार्यालयमा संविधान दिवसको आयोजना  गर्नेछौं,’ उनले भने।

    असोज ३ गते स‌विधान दिवस मनाउने गरिन्छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij