२०८३, आश्विन १ गते

Sep 17 2026

रसुवा बाढीमा उद्धार र जीवनरक्षालाई प्राथमिकता दिन, रास्वपा सभापति रवि लामिछानेको अपिल

रसुवा बाढीमा उद्धार र जीवनरक्षालाई प्राथमिकता दिन, रास्वपा सभापति रवि लामिछानेको अपिल

रोज नेपाल
बुधवार, भाद्र १० २०८३
रोज नेपाल
बुधवार, भाद्र १० २०८३
  • काठमाडौं । रसुवामा आएको बाढीपछि उत्पन्न विपद्को अवस्थामा नागरिकको सुरक्षा र उद्धारलाई सबैभन्दा पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आग्रह गरेका छन्।

    लामिछानेले सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै बाढीको जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानतर्फ जान र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गरेका निर्देशन पालना गर्न आग्रह गरेका हुन्।

    उनले विपद्को समयमा रास्वपाका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई समेत संयमित र जिम्मेवार ढंगले सहयोगमा जुट्न आग्रह गरेका छन्। प्रभावित क्षेत्रमा आवश्यक परे स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार, राहत तथा स्वयंसेवी गतिविधिमा सक्रिय हुन उनले पार्टीको स्थानीयदेखि केन्द्रीय तहसम्मका सदस्यलाई निर्देशन दिएका छन्।

    बाढीका बेला सूचना प्रवाहमा विशेष सावधानी अपनाउनुपर्नेमा पनि लामिछानेले जोड दिएका छन्। सरकारी निकाय, स्थानीय प्रशासन तथा विश्वसनीय सञ्चारमाध्यमबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन र सामाजिक सञ्जालमा अप्रमाणित समाचार, हल्ला वा अफवाह नफैलाउन उनले आग्रह गरेका छन्।

    गलत वा अपुष्ट सूचनाले उद्धार तथा राहत कार्य प्रभावित पार्नुका साथै सर्वसाधारणमा अनावश्यक त्रास सिर्जना गर्न सक्ने भएकाले सबैलाई जिम्मेवार भएर सूचना आदानप्रदान गर्न उनले अपिल गरेका छन्।

    विपद्को समयमा राजनीतिक विभाजनभन्दा मानवीय सहयोगलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै लामिछानेले प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाएका छन्। उनले जोखिममा रहेका सबैलाई सुरक्षित रहन र सम्भव भएसम्म एकअर्कालाई सहयोग गर्न आग्रह गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij