काठमाडौं । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको ठूलो बाढीपछि उत्पन्न जोखिमबारे छलफल गर्न प्रधानमन्त्री बालेन्द्र शाहले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरमा बस्ने बैठकमा बाढीबाट प्रभावित क्षेत्रको पछिल्लो अवस्था, सम्भावित जोखिम तथा उद्धार र राहतका लागि चाल्नुपर्ने तत्कालीन कदमबारे छलफल हुने बताइएको छ।
तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको असामान्य बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा प्रभाव परेको छ। बाढीको बहाव त्रिशूली नदी हुँदै थप तल्लो तटीय क्षेत्रमा पुग्न सक्ने पूर्वानुमानपछि सरकारले उच्च सतर्कता अपनाएको हो।
बैठकमा सम्भावित जोखिम न्यूनीकरणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सरकारी संयन्त्रलाई थप प्रभावकारी ढंगले परिचालन गर्ने विषयमा निर्णय हुने अपेक्षा गरिएको छ। प्रभावित क्षेत्रमा उद्धार, राहत, स्वास्थ्य सेवा तथा आवश्यक सामग्री पुर्याउने विषयमा समेत छलफल हुने जनाइएको छ।
बाढी पूर्वानुमान शाखाले त्रिशूली नदीको बहावका कारण नुवाकोट, धादिङ हुँदै चितवनसम्मका तटीय क्षेत्रमा जोखिम हुनसक्ने चेतावनी दिएको छ। त्यसलाई ध्यानमा राख्दै नदी आसपासका बस्तीमा सतर्कता बढाइएको छ।
सरकारले विपद्को अवस्थालाई मध्यनजर गर्दै तत्कालीन उद्धार तथा राहतसँगै सम्भावित थप क्षति रोक्न आवश्यक रणनीति तय गर्ने तयारी गरेको छ। आकस्मिक मन्त्रिपरिषद् बैठकबाट प्रभावित क्षेत्रका लागि थप स्रोत, जनशक्ति र उद्धार संयन्त्र परिचालनसम्बन्धी निर्णय हुनसक्ने बताइएको छ।