रूपन्देही । भोटेकोशी नदीमा आएको बाढीका कारण जोखिम बढेपछि नवलपरासीको सुस्ता गाउँ खाली गराइएको छ।
बाढीको प्रभाव सुस्ता क्षेत्रमा समेत पर्न सक्ने सम्भावना देखिएपछि स्थानीय प्रशासनले सुरक्षाकर्मी परिचालन गरेर गाउँका बासिन्दालाई सुरक्षित स्थानमा सारेको हो।
स्थानीयलाई नदीवारि रामनगरस्थित शिव गंगाकुञ्ज प्राथमिक विद्यालयमा अस्थायी रूपमा राखिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै उनीहरूको सुरक्षाका लागि आवश्यक व्यवस्थापन भइरहेको जनाइएको छ।
सुस्ता क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई समेत जोखिमबाट जोगाउन सुरक्षित स्थानतर्फ सार्ने प्रक्रिया अघि बढाइएको छ।
बाढीको सम्भावित प्रभावलाई मध्यनजर गर्दै स्थानीय प्रशासन तथा सुरक्षा निकायले नदी आसपासका क्षेत्रमा निगरानी बढाएका छन्। स्थानीयवासीलाई सतर्क रहन र जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरिएको छ।