काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित चार जिल्लामा मृत्यु हुनेको संख्या २२ पुगेको छ। बागमती प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रसुवा, नुवाकोट, धादिङ र चितवनमा गरी २२ जनाको ज्यान गएको हो।
प्रहरीको विवरणअनुसार सबैभन्दा बढी मानवीय क्षति नुवाकोटमा भएको छ। त्यहाँ पाँच महिला र छ पुरुष गरी ११ जनाको मृत्यु भएको छ। धादिङमा पाँच महिला, दुई पुरुष तथा दुई जनाको पहिचान हुन बाँकी रहेको अवस्थामा गरी नौ जनाको मृत्यु भएको जनाइएको छ।
त्यस्तै, रसुवामा एक पुरुष र चितवनमा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म ६५ जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये रसुवाबाट ४३, नुवाकोटबाट १९ र धादिङबाट तीन जना रहेका छन्।
उद्धारपछि घाइतेमध्ये छ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ भने ३६ जना धुन्चेमा रहेका छन्। एक प्रहरीसहित अन्य घाइतेलाई नुवाकोटबाट उद्धार गरी त्यहीँ व्यवस्थापन गरिएको प्रहरी विवरणमा उल्लेख छ।
बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य अझै जारी रहेकाले मृतक तथा घाइतेको संख्या थप बढ्न सक्ने सम्भावना रहेको छ। सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रमा खोजी र उद्धारलाई निरन्तरता दिएको जनाएको छ।