काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले ५ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।
बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गर्ने घोषणा गरेको हो । बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी आसपासका क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बैंकले सहयोगको निर्णय गरेको जनाएको छ ।
बैंकका अनुसार बाढीमा परी धेरै नागरिकको ज्यान गएको, कतिपय बेपत्ता भएको तथा ठूलो संख्यामा परिवार विस्थापित भएका छन् । बाढीले सडक, पुल, बस्ती र जलविद्युत् आयोजनासहितका संरचनामा समेत क्षति पुर्याएको बैंकको भनाइ छ ।
उपलब्ध गराइने रकमबाट बेपत्ता नागरिकको खोज तथा उद्धार, घाइतेको उपचार, प्रभावित परिवारलाई खाद्यान्न र अस्थायी आवासको व्यवस्था तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुग्ने बैंकले जनाएको छ ।
ग्लोबल आइएमईले प्राकृतिक विपद्का समयमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको जनाएको छ । बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीका बेला यसअघि पनि आर्थिक, भौतिक र मानवीय सहायता उपलब्ध गराएको बैंकको दाबी छ ।
बैंकका अनुसार ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा ग्लोबल आइएमईले सेवा दिँदै आएको छ । हाल बैंकका ३४१ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय सञ्चालनमा छन् ।
त्यस्तै, अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायत मुलुकबाट बैंकले औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै आएको जनाएको छ ।