काठमाडौं । नेपाल–चीन सीमाक्षेत्र नजिक तिब्बततर्फ ठूलो प्राकृतिक जलाशय बनेपछि थप बाढीको जोखिम बढेको छ । चीनको जलस्रोत मन्त्रालयका अनुसार छोचेन खोला र पुरेपु साङपो नदीको मिलनबिन्दु आसपास पहिरोका कारण पानी थुनिएर ठूलो ताल बनेको हो ।
चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार बिहीबार बिहानसम्म उक्त जलाशयमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको छ । पानीको सतह बढ्दै गएर तालबाट बाहिर निस्कन थालेको अनुमान गरिएको छ ।
आगामी तीन दिनमा थप करिब ३० लाख घनमिटर पानी जम्मा हुनसक्ने आकलन गरिएको छ । पानीको दबाब बढेमा प्राकृतिक बाँध भत्किएर तल्लो क्षेत्रमा ठूलो बाढी आउन सक्ने भन्दै जोखिम उच्च रहेको चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले जनाएको छ ।
सम्भावित खतरा न्यूनीकरणका लागि चिनियाँ जलस्रोत मन्त्रालयले जलाशयको अवस्था निरन्तर निगरानी गरिरहेको छ । आकस्मिक रूपमा ताल फुटेमा कसरी उद्धार तथा व्यवस्थापन गर्ने भन्ने विषयमा सम्भावित परिदृश्यको अध्ययन र बाढीसम्बन्धी अभ्याससमेत अघि बढाइएको जनाइएको छ ।
यसअघि नेपालतर्फबाट सुरु भएको लेदोसहितको पहिरो चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित ग्यिरोङ बन्दरगाहसम्म पुगेपछि त्यहाँका संरचनामा क्षति भएको थियो । त्यसपछि चिनियाँ पक्षले प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि विभिन्न टोली परिचालन गरेको छ ।
भौगोलिक कठिनाइ, निरन्तर वर्षा र थप प्राकृतिक विपद्को सम्भावनाबीच पनि उद्धारकर्मी, जनमुक्ति सेना, प्राविधिक तथा इन्जिनियरिङ टोली, दूरसञ्चार सेवा प्रदायक र राहत संस्थाहरूले प्रभावित क्षेत्रमा जनशक्ति, हेलिकोप्टर, उपकरण र आवश्यक सामग्री पुर्याइरहेका छन् ।
बिहीबार बिहानसम्म प्राप्त विवरणअनुसार विपद्मा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ भने दुई जनाको उद्धार गरिएको छ । अझै ५५जना बेपत्ता छन्।