काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको खोज तथा उद्धार, राहत र पुनर्स्थापनाका लागि अपि पावर कम्पनीले ३५ लाख रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त रकम उपलब्ध गराएको हो । अपि पावरकी अध्यक्ष सिर्जना खड्काले सहयोगले बाढी प्रभावितको तत्काल खोजी तथा उद्धारमा केही राहत पुग्ने विश्वास व्यक्त गरेकी छन् ।
खड्काका अनुसार उद्धारको प्रारम्भिक चरणपछि प्रभावित नागरिकको दीर्घकालीन पुनर्स्थापनाका लागि आवश्यक परे कम्पनीले थप सहयोग गर्नेछ ।
बुधबार बिहान भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको भन्दै कम्पनीले दुःख व्यक्त गरेको छ ।
कम्पनीले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता भएका नागरिकको तत्काल खोजी र उद्धार गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
आफ्ना जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीसहित बाढीका कारण सम्पर्कविहीन भएका सबैको खोजीलाई तीव्र बनाउनुपर्नेमा अपि पावरले जोड दिएको छ । थप क्षति रोक्न उच्च सतर्कता अपनाउँदै उद्धार तथा राहत कार्यमा सबै पक्षले आ–आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने कम्पनीको आग्रह छ ।
अपि पावरका अनुसार कम्पनीले हाल ५६ मेगावाट क्षमताका जलविद्युत् तथा ६ मेगावाट क्षमताका सौर्य आयोजनाबाट विद्युत् उत्पादन गरिरहेको छ । कम्पनीले विभिन्न सहायक संस्थामार्फत जलविद्युत्सँगै कृषि, पर्यटन र पूर्वाधार क्षेत्रमा समेत लगानी गर्दै आएको जनाएको छ ।