२०८३, आश्विन १ गते

Sep 17 2026

बाढीको पीडामा गीतकार सङ्घको निर्णय : वार्षिकोत्सव स्थगित, राहत कोषमा १ लाख १५ हजार सहयोग

बाढीको पीडामा गीतकार सङ्घको निर्णय : वार्षिकोत्सव स्थगित, राहत कोषमा १ लाख १५ हजार सहयोग

रोज नेपाल
बिहिवार, भाद्र ११ २०८३
रोज नेपाल
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौं । गीतकार सङ्घ नेपालले यही भदौ २५ गते आयोजना गर्न लागेको आफ्नो वार्षिकोत्सव तथा साङ्गीतिक कार्यक्रम स्थगित गरेको छ।

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएपछि मुलुक शोक र पीडामा रहेका बेला उत्सव मनाउनुभन्दा उद्धार, राहत तथा पुनःस्थापनालाई प्राथमिकता दिनुपर्ने भन्दै सङ्घले कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो। सङ्घले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत अर्को सूचना जारी नभएसम्मका लागि कार्यक्रम स्थगित गरिएको जनाएको छ।

    भोटेकोशीमा आएको बाढी त्रिशूली नदी हुँदै तल्लो तटीय क्षेत्रमा फैलिँदा रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण नदी किनारका बस्ती, बजार, सडक, पुल तथा विभिन्न भौतिक संरचनामा व्यापक क्षति पुगेको विवरण सार्वजनिक भएका छन्।

    नेपाल प्रहरीले बिहीबार दिउँसोसम्म सार्वजनिक गरेको विवरणअनुसार बाढीका कारण विभिन्न जिल्लामा ३ सय ३२ जनाको मृत्यु भएको पुष्टि भएको छ। खोज तथा उद्धार कार्यसँगै बेपत्ताको खोजी, शव व्यवस्थापन र प्रभावित परिवारलाई राहत उपलब्ध गराउने काम जारी रहेको प्रहरीले जनाएको छ।

    यही विषम परिस्थितिलाई मध्यनजर गर्दै गीतकार सङ्घले आफ्नो वार्षिकोत्सवभन्दा मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिएको जनाएको छ। सङ्घले बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ।

    यसैबीच, गीतकार सङ्घ नेपालले बाढीपीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १५ हजार रुपैयाँ सहयोग गरेको छ। सङ्घका अध्यक्ष वसन्त बित्यासी थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा विपद्को यस घडीमा आफ्नो सानो सहयोगले पीडित परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गरिएको छ।

    सङ्घले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको शीघ्र उद्धार, राहत र पुनःस्थापनाका लागि सम्बन्धित निकाय, संघ–संस्था तथा सम्पूर्ण नेपालीलाई सहयोगका लागि अपिलसमेत गरेको छ।

    सङ्घले विपद्मा रहेका नेपालीप्रति ऐक्यबद्धता जनाउँदै विषम परिस्थितिमा संयमित रहन तथा देश र जनताको हितमा समर्पित हुन आफ्ना सदस्यसहित सम्पूर्ण नेपालीमा आग्रह गरेको छ।

    IMG-20260827-WA0020.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij