२०८३, आश्विन १ गते

Sep 17 2026

भाद्र १० को बाढी–पहिरोमा बेपत्ता आफन्तको खोजीमा परिवारको पीडादायी प्रतीक्षा, सरकारसँग ‘छिटो खोजिदिन’ आग्रह

भाद्र १० को बाढी–पहिरोमा बेपत्ता आफन्तको खोजीमा परिवारको पीडादायी प्रतीक्षा, सरकारसँग ‘छिटो खोजिदिन’ आग्रह

आइतवार, भाद्र १४ २०८३
आइतवार, भाद्र १४ २०८३
  • काठमाडौं । गत भाद्र १० गते चीनको तिब्बत क्षेत्रबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका नागरिकको खोजी कार्य अझै प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै पीडित परिवारले सरकारप्रति गम्भीर असन्तुष्टि जनाएका छन्।

    बाढी–पहिरोले  ठूलो जनधनको क्षति पुर्‍याएको थियो। विपत्तिको लामो समय बितिसक्दा पनि आफ्ना परिवारका सदस्यको अवस्था थाहा नपाउँदा आफन्तहरू गहिरो पीडा र अनिश्चितताको अवस्थामा दिन बिताउन बाध्य भएका छन्।

    जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार भाद्र १० गते आएको बाढी–पहिरोबाट सिन्धुपाल्चोकका मात्रै २२४ जना प्रभावित भएको विवरण सार्वजनिक भएको थियो। उद्धार तथा राहतका क्रममा केही व्यक्तिको उद्धार भए पनि धेरैको अवस्था अझै अज्ञात रहेको बताइएको छ।

    उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका कार्यकारिणी सदस्य तथा व्यवसायी अम्बरबहादुर श्रेष्ठ (उमेश) का अनुसार बाढी–पहिरोमा परेका केही व्यक्तिको उद्धार भए पनि धेरै नागरिकको अवस्था अझै पत्ता लाग्न सकेको छैन। आफन्तहरू दिनहुँ आफ्ना मान्छे फर्किने आशामा बाटो हेरिरहेका छन्।

    बाढीमा बेपत्ता भएका बलेफी गाउँपालिका–१ का २५ वर्षीय विजय श्रेष्ठ, २२ वर्षीय सुविन श्रेष्ठ, २१ वर्षीय बलबहादुर श्रेष्ठ, भोटेकोशी गाउँपालिका–५ का ४९ वर्षीय मोहन श्रेष्ठ, बाह्रबिसे नगरपालिका–३ का विश्वबन्धु श्रेष्ठ तथा बलेफीका सुरज तिमल्सिना लगायतको अवस्था अझै अज्ञात रहेको आफन्तहरूले बताएका छन्।

    उनीहरूका परिवारका लागि हरेक दिन आशा र पीडाबीच बितिरहेको छ। फोनको घण्टी बज्दा हराएका आफन्तको खबर आयो कि भन्ने आशा पलाउने, तर खबर नआउँदा निराश बन्नुपर्ने अवस्था रहेको आफन्तहरूको भनाइ छ।

    “हामीलाई हाम्रो मान्छे जीवित छन् कि छैनन् भन्ने मात्रै भए पनि जानकारी चाहिएको छ। खोजी गरेर सत्य कुरा बताइदिनुपर्‍यो। आशा बाँकी छ भने आशा देखाइदिनुस्, अवस्था जे भए पनि सत्य जानकारी दिनुस्,” भन्दै आफन्तहरूले सरकारसँग भावुक आग्रह गरेका छन्।

    विपद्को समयमा उद्धार कार्य चुनौतीपूर्ण हुने भए पनि लामो समयसम्म आफ्ना परिवारका सदस्यको अवस्थाबारे कुनै स्पष्ट जानकारी नपाउँदा पीडित परिवारको पीडा झन् गहिरिँदै गएको छ। उनीहरूले सुरक्षा निकाय, स्थानीय प्रशासन र सम्बन्धित सबै निकायलाई खोजी कार्यलाई थप तीव्र, व्यवस्थित र प्रभावकारी बनाउन आग्रह गरेका छन्।

    परिवारजनले बेपत्ताको खोजीका लागि सम्भव सबै स्थानमा तत्काल खोज तथा उद्धार टोली परिचालन गर्न, नदी तथा आसपासका क्षेत्रमा विशेष निगरानी बढाउन र उद्धार तथा खोजीसम्बन्धी विवरण नियमित रूपमा सार्वजनिक गर्न सरकारसँग जोडदार माग गरेका छन्।

    प्राकृतिक विपत्तिले घर–परिवार उजाडिएका बेला आफ्ना प्रियजनको अवस्था थाहा नपाउनु पीडित परिवारका लागि अर्को ठूलो मानसिक यातना बनेको छ। त्यसैले बेपत्ता नागरिकको खोजीलाई प्राथमिकतामा राख्दै “एक जना नागरिक पनि बेपत्ता छ भने उसको खोजी राज्यको दायित्व हो” भन्ने भावनाका साथ सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग उठेको छ।

    अहिले पनि सिन्धुपाल्चोकका विभिन्न परिवारको नजर नदी किनार, उद्धार केन्द्र र सरकारी सूचनातर्फ छ। हराएका आफन्त फर्केर आउने आशा बोकेर बसेका परिवारका लागि अब प्रत्येक घडी निकै भारी बन्दै गएको छ।

    आफन्तहरूको एउटै आग्रह छ—बेपत्ताको खोजीमा ढिलाइ नगरियोस्, खोजी कार्य तीव्र बनाइयोस् र उनीहरूको अवस्थाबारे तत्काल सत्य जानकारी दिइयोस्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij