काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि राष्ट्रिय शोक घोषणा गर्न सांसदहरूले सरकारसँग आग्रह गरेका छन्। मंगलबार राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसदहरूले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन पनि सरकारको ध्यानाकर्षण गराएका हुन्।
नेपाली कांग्रेसका सांसद युवराज शर्माले भदौ १० गतेलाई राष्ट्रिय शोक दिवसका रूपमा घोषणा गर्न सरकारसमक्ष आग्रह गरे। विपद्को घडीमा राज्यका सबै संयन्त्र र नागरिक एकजुट भएर प्रभावितको खोजी तथा उद्धारमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।
शर्माले विपद्पछि प्रचारभन्दा प्रभावकारी कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनका अनुसार अहिले हराइरहेकाको खोजी, उद्धार, पीडितलाई राहत तथा विस्थापितको पुनःस्थापना सरकारको मुख्य जिम्मेवारी हुनुपर्छ।
राष्ट्रिय शोक घोषणा गर्न नेकपाकी सांसद मदनकुमारी शाह गरिमाले पनि माग गरिन्। उनले एक दिन राष्ट्रिय झण्डा झुकाएर बाढीमा ज्यान गुमाएकाप्रति सम्मान प्रकट गर्नुपर्ने बताइन्।
सांसदहरूले विपद्को घटनालाई जलवायु परिवर्तनसँग समेत जोडेर अन्तर्राष्ट्रिय तहमा उठाउनुपर्ने बताएका छन्। नेकपाका सांसद सुरेशकुमार आलेमगरले विकसित तथा सम्पन्न मुलुकबाट सिर्जित जलवायु परिवर्तनको असर नेपालजस्ता कमजोर अर्थतन्त्र भएका मुलुकले बढी भोग्नुपरेको बताए। उनले यस विषयमा अन्तर्राष्ट्रिय समुदायको गम्भीर ध्यानाकर्षण गराउन सरकारसँग आग्रह गरे।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहानसम्म भोटेकोशी बाढीमा परी