२०८३, आश्विन १ गते

Sep 17 2026

भोटेकोशी बाढीप्रति राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा दुःख व्यक्त, एकजुट भएर विपद् सामना गर्न अपिल

भोटेकोशी बाढीप्रति राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा दुःख व्यक्त, एकजुट भएर विपद् सामना गर्न अपिल

रोज नेपाल
मंगलवार, भाद्र १६ २०८३
रोज नेपाल
मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद् व्यवस्थापनमा सबै तहका सरकार र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्।

    मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै अध्यक्ष दाहालले भदौ १० गते आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको उल्लेख गरे। घटनाबाट भएको मानवीय क्षतिले राष्ट्रिय सभालाई समेत गम्भीर रूपमा दुःखी बनाएको उनको भनाइ थियो।

    नेपाल बाढी, पहिरो, भूकम्प तथा महामारीजस्ता विभिन्न किसिमका विपद्को जोखिममा रहेको स्मरण गराउँदै अध्यक्ष दाहालले विपद्को प्रभाव न्यूनीकरणका लागि दीर्घकालीन तयारी र प्रभावकारी व्यवस्थापन आवश्यक रहेको बताए।

    विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान निकै न्यून रहे पनि जलवायु परिवर्तनका कारण उत्पन्न विपद्को असर भने नेपालले गम्भीर रूपमा भोगिरहेको उनले बताए। जलवायु परिवर्तनबाट बढी प्रभावित मुलुकका रूपमा नेपालले अन्तर्राष्ट्रिय तहमा आफ्ना विषय प्रभावकारी ढंगले उठाउनुपर्ने उनको भनाइ थियो।

    बाढीमा ज्यान गुमाउने नेपाली तथा मित्रराष्ट्रका नागरिकप्रति अध्यक्ष दाहालले राष्ट्रिय सभाको तर्फबाट श्रद्धाञ्जली अर्पण गरे। उनले शोकमा रहेका परिवारजनप्रति समवेदना व्यक्त गर्दै बाढीपछि सम्पर्कविहीन स्वदेशी तथा विदेशी नागरिकहरू सकुशल भेटिने विश्वाससमेत व्यक्त गरे।

    विपद्का बेला जोखिम मोलेर खोज तथा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन, स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको योगदानको उनले प्रशंसा गरे। उद्धार तथा राहत कार्यमा सहयोग गर्ने मित्रराष्ट्र र अन्तर्राष्ट्रिय समुदायप्रति समेत उनले आभार व्यक्त गरे।

    अध्यक्ष दाहालले विपद् व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहबीच एकीकृत कार्ययोजना र समन्वय अपरिहार्य रहेको बताए। संविधानको भावना र संघीयताको मर्मअनुसार तीनै तहका सरकारले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्नुपर्नेमा उनले जोड दिए।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीबाट भएको क्षतिको यथार्थ विवरण संकलन गरिरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले संकटको समयमा राजनीतिक दल, सरकारी निकाय, नागरिक समाज र आम नागरिक सबै एकताबद्ध भएर राहत तथा पुनःस्थापनामा जुट्न आह्वान गरे।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij