२०८३, आश्विन १ गते

Sep 17 2026

बाढीले बाटो भत्काएपछि नुवाकोटमा त्रिशूलीमाथि तुइनबाट राहत र औषधि बोक्न थालियो

बाढीले बाटो भत्काएपछि नुवाकोटमा त्रिशूलीमाथि तुइनबाट राहत र औषधि बोक्न थालियो

रोज नेपाल
मंगलवार, भाद्र १६ २०८३
रोज नेपाल
मंगलवार, भाद्र १६ २०८३
  • नुवाकोट । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले नुवाकोटका नदी तटीय क्षेत्रमा आवागमनको अवस्था अस्तव्यस्त बनाएको छ। बाढीले सडक तथा पुल बगाएपछि कतिपय बस्तीबीचको नियमित सम्पर्कसमेत टुटेको छ।

    क्षतिग्रस्त क्षेत्रमा तत्काल आवतजावत सहज बनाउन त्रिशूली नदीमाथि तुइन जडान गरिएको छ। विदुर नगरपालिका–१ र ९ नम्बर वडाबीच आवतजावत गर्न स्थानीयस्तरबाट मंगलबार बिहान तुइन सञ्चालनमा ल्याइएको हो।

    बाढीले पुल तथा बाटो बगाएपछि स्थानीयवासीलाई दैनिक कामकाजका लागि एक ठाउँबाट अर्को ठाउँ पुग्न कठिनाइ हुँदै आएको थियो। वैकल्पिक बाटोको अभावमा नदी पार गर्नुपर्ने बाध्यता भएपछि नागरिकको सहजताका लागि तुइन जडान गरिएको जनाइएको छ।

    बाढीले नदी किनारका बस्तीमा ठूलो क्षति पुर्‍याएको छ। कतिपय ठाउँमा सडक र पुलको संरचना बगाउँदा नदी आसपासको भूभाग बगरमा परिणत भएको स्थानीयले बताएका छन्।

    बाढीका कारण नुवाकोटमा मानवीय क्षतिसमेत भएको छ। केही परिवारले आफन्त गुमाएका छन् भने घाइतेहरू उपचाररत छन्। प्रभावित परिवार राहत तथा आवश्यक स्वास्थ्य सेवाको प्रतीक्षामा रहेका छन्।

    स्थायी रूपमा सडक तथा पुल पुनर्निर्माण नहुँदासम्म तुइनले स्थानीयलाई आवतजावतमा केही सहजता दिने अपेक्षा गरिएको छ। तर नदीको बहाव र मौसमको अवस्था हेरेर सुरक्षित रूपमा यसको प्रयोग गर्नुपर्ने चुनौती भने कायमै छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij