२०८३, आश्विन १ गते

Sep 17 2026

भोटेकोशी बाढीपछि सडक र पुल पुनर्निर्माण तीव्र, ३ करोड २५ लाख तत्काल बजेट

भोटेकोशी बाढीपछि सडक र पुल पुनर्निर्माण तीव्र, ३ करोड २५ लाख तत्काल बजेट

रोज नेपाल
बुधवार, भाद्र १७ २०८३
रोज नेपाल
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण देशका विभिन्न स्थानमा सडक तथा पुलसहितका यातायात पूर्वाधारमा ठूलो क्षति पुगेको छ । प्रधानमन्त्री बालेन्द्र शाहका अनुसार बाढीबाट गल्छी–वेत्रावती–रसुवागढी सडकअन्तर्गत करिब ८२ किलोमिटर सडक प्रभावित भएको छ ।

    बिदुर–वेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा मात्रै ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने थप १६ किलोमिटर सडकमा आंशिक क्षति पुगेको छ । यस्तै, पृथ्वी राजमार्गको कृष्णभीर र परेवाभीर क्षेत्रमा समेत बाढीपहिरोका कारण सडकमा क्षति भएको जनाइएको छ ।

    बाढीका कारण ४८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । तीमध्ये २० वटा पुल मर्मत गरेर सञ्चालन गर्न सकिने अवस्थामा छन् भने २८ वटा पुल भने नयाँ निर्माण गर्नुपर्ने अवस्थामा पुगेका छन् । यसबाहेक ३१ वटा मोटरेबल पुलसमेत बाढीले बगाएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन् ।

    यसैबीच, पृथ्वी राजमार्गअन्तर्गत गल्छी, बैरेनी, जरीखेत, पोखरे, मुङ्गे र गलौदी क्षेत्रमा थुप्रिएको लेदो हटाएर यातायात सञ्चालनमा ल्याइएको छ । गल्छी–देवीघाट सडकखण्डमा लेदो सफा गर्ने कामसँगै बेलिब्रिज निर्माण अघि बढाइएको छ । तादी–देवीघाट र वेत्रावती क्षेत्रमा पनि बेलिब्रिज जडान गर्ने तयारी भइरहेको बताइएको छ ।

    क्षतिग्रस्त सडक तथा पूर्वाधार तत्काल पुनः सञ्चालनमा ल्याउन ५० जना प्राविधिक परिचालन गरिएको छ । सडक बोर्डमार्फत तत्काल ३ करोड २५ लाख रुपैयाँ उपलब्ध गराइएको छ । आवश्यकताअनुसार थप खर्च सम्बन्धित आयोजनाको बजेटबाट व्यवस्थापन गर्नसमेत अनुमति दिइएको प्रधानमन्त्री शाहले बताएका छन् ।

    बाढीबाट क्षति भएका संरचनाको अवस्था पहिचान गर्न हेलिकप्टर र पैदलमार्फत स्थलगत विवरण संकलन भइरहेको छ । थप २० स्थानमा बेलिब्रिज राख्न सकिने सम्भावनाबारे अध्ययन भइरहेको छ भने तीन स्थानमा बेलिब्रिज निर्माणको प्रक्रिया अघि बढिसकेको जनाइएको छ ।

    त्यस्तै, बाढी तथा पहिरोबाट प्रभावित मुग्लिन–नारायणगढ सडकको कृष्णभीर खण्डलाई भदौभित्रै मर्मत गरी पुनः नियमित यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रधानमन्त्री शाहले बताएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij