काठमाडौं । राजधानीबाट मुग्लिनतर्फ जाने सवारी साधनका लागि नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याइएको छ। सुरुङमार्गबाट पेट्रोलियम पदार्थ बोकेका सवारी तथा दुई पाङ्ग्रे साधनबाहेक अन्य सवारीलाई आवतजावत गर्न दिइएको हो।
नागढुंगा–पातले वन क्षेत्रमा सडकको केही भाग भासिएपछि उक्त सडकखण्डमा यातायात प्रभावित भएको थियो। अवस्थालाई ध्यानमा राख्दै अहिले पेट्रोलियम पदार्थ बोकेका सवारी र मोटरसाइकलका लागि भने भासिएको स्थानबाटै एकतर्फी रूपमा आवागमनको व्यवस्था गरिएको सडक विभागले जनाएको छ।
सडक विभागका अनुसार भासिएको सडकको अवस्थाबारे प्राविधिक अध्ययन गर्नुपर्ने भएकाले तत्कालै स्थायी मर्मत सम्भव छैन। प्राविधिक टोलीको अध्ययन तथा आवश्यक मूल्यांकनपछि मात्रै मर्मत कार्य अघि बढाइनेछ।
सडकको मर्मत सम्पन्न भएपछि सबै प्रकारका सवारी साधनका लागि मार्ग पूर्ण रूपमा सञ्चालन गर्ने विषयमा आवश्यक निर्णय लिइने विभागले जनाएको छ।