२०८३, आश्विन १ गते

Sep 17 2026

सडक अवरुद्ध भएपछि उपत्यकाबाहिरै ग्यास भरेर काठमाडौं पठाउन थालियो

सडक अवरुद्ध भएपछि उपत्यकाबाहिरै ग्यास भरेर काठमाडौं पठाउन थालियो

रोज नेपाल
बिहिवार, भाद्र १८ २०८३
रोज नेपाल
बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा सडक भासिएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यास आपूर्तिका लागि वैकल्पिक व्यवस्था अपनाउन थालिएको छ। ग्यास बोकेका बुलेट काठमाडौंसम्म पुग्न नसकेपछि उपत्यकाबाहिर रहेका उद्योगबाटै सिलिन्डरमा ग्यास भरेर राजधानी पठाउने व्यवस्था गरिएको हो।

    नेपाल आयल निगमको अनुमतिपछि उपत्यका र आसपासका ग्यास उद्योगहरूले चितवन, मकवानपुर, पर्सा, बारा तथा नवलपरासीलगायतका जिल्लामा रहेका उद्योगसँग समन्वय गरी सिलिन्डर भर्न थालेका छन्।

    साल्ट ट्रेडिङ कर्पोरेशनको एसटिसी ग्याससमेत वीरगञ्जस्थित मनोज ग्यास उद्योगमा भरेर काठमाडौं पठाउन थालिएको छ। त्यस्तै, चितवनको बाबा ग्यासले मंगलबार श्री ग्यासका १ हजार ५ सय सिलिन्डर भरेर पठाएको छ। धादिङको नौबिसेमा रहेको श्री ग्यासको प्लान्टसम्म ग्यास बुलेट पुर्‍याउन समस्या भएपछि अन्य उद्योगको सहयोग लिइएको हो।

    चितवनकै साइबाबा ग्यासले आफ्नै ९ सय सिलिन्डर भरेर काठमाडौं पठाएको छ। नेपाल ग्यास गण्डकीले पनि बालाजुस्थित नेपाल ग्यासका १ हजार २ सय सिलिन्डर भरेर राजधानीतर्फ पठाएको जनाएको छ।

    यसैगरी, गैँडाकोटको जानकी ग्यासमा नौबिसेको श्रीराम ग्यास, हेटौँडाको साहारा ग्यासमा काठमाडौंका एभरेष्ट र सुगम ग्यासका सिलिन्डर भरेर पठाउने काम भइरहेको छ। बनेपाको सगरमाथा ग्यासले परासीस्थित चण्डी ग्यासबाट सिलिन्डर भर्न थालेको छ भने बनेपाका लोकप्रिय, सुपर, तारा लगायतका उद्योगले पनि राजधानीबाहिरका विभिन्न उद्योगसँग सहकार्य गरेर ग्यास आपूर्ति गरिरहेका छन्।

    नेपाल एलपी ग्यास उद्योग संघका सदस्यसमेत रहेका बाबा ग्यासका सञ्चालक विमल कालाखेतीका अनुसार भारतबाट नेपाल भित्रिने ग्यासको आपूर्तिमा कमी आएको छैन। सडकका कारण बुलेट सम्बन्धित उद्योगसम्म पुर्‍याउन नसकिएको अवस्थामा अन्य उद्योगमा ग्यास भरेर ट्रकमार्फत राजधानी पठाइएकाले उपभोक्ताले अभाव झेल्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ।

    कालाखेतीका अनुसार गत महिना भारतबाट ६० हजार २ सय मेट्रिकटन एलपी ग्यास नेपाल भित्रिएको थियो। उक्त परिमाण अहिलेसम्मकै उच्चमध्ये एक रहेको र अहिले पनि त्यही अनुपातमा ग्यास आयात भइरहेकाले आपूर्तिमा ठूलो समस्या नआउने उनले बताए।

    नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दले पनि सडक अवरोधका कारण उत्पन्न समस्या समाधान गर्न नेपाल आयल निगमले उद्योगीहरूलाई राजधानीबाहिरका उद्योगमा ग्यास भर्न अनुमति दिएको जानकारी दिए।

    उनका अनुसार उपत्यका र आसपासका १६ वटा ग्यास उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर तथा नवलपरासीका उद्योगसँग समन्वय गरेर सिलिन्डर भरी काठमाडौं लैजान थालेका छन्। काठमाडौं उपत्यका र आसपासका जिल्लामा मात्रै देशभर खपत हुने कुल एलपी ग्यासको करिब ४० प्रतिशत खपत हुने भएकाले वैकल्पिक माध्यमबाट आपूर्ति निरन्तर राखिएको उद्योगीहरूको भनाइ छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij