चितवन । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि आफ्ना आफन्त तथा सन्तान सम्पर्कविहीन भएपछि परिवारजन उनीहरूको अवस्था पत्ता लाग्ने आशमा डीएनए परीक्षणको सहारा लिन थालेका छन्।
बेपत्ताको खोजीका क्रममा भेटिएका तर पहिचान हुन नसकेका शवसँग डीएनए मिलान गर्न चितवनमा आफन्तहरूको रगतको नमुना संकलन भइरहेको छ। भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग संघको परिसरमा मंगलबारदेखि नमुना संकलनको काम सुरु गरिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवन, बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुरको सेवा इकाइ चितवन र जनस्वास्थ्य कार्यालय चितवनको समन्वयमा आफन्तबाट डीएनए परीक्षणका लागि रगत संकलन भइरहेको जनाइएको छ।
बारा कलैयाका भगवान शर्मा पनि हराइरहेका छोराको खोजी गर्दै विभिन्न सम्भावित स्थानमा पुगे। लामो समयसम्म छोराको अवस्था थाहा नभएपछि डीएनए परीक्षणबाट शव भेटिए पहिचान गर्न सकिने जानकारी पाएर उनी चितवन आएका हुन्। नागरिकताको प्रतिलिपि र आफ्नो फोटोसहित नमुना दिएका शर्माले पहिचानका लागि डीएनए परीक्षण आवश्यक ठाने पनि छोरालाई जीवितै भेट्ने आश भने अझै नछाडेको बताए।
त्यस्तै, बर्दियाका रामबहादुर थारू पनि हराइरहेका छोराको खोजीमा ११ गतेदेखि चितवनमा छन्। उनका अनुसार छोरासहित १६ जना साथी बाढीमा बेपत्ता भएका छन्। विभिन्न शव हेर्दासमेत छोराको अवस्था पत्ता नलागेपछि उनले डीएनए मिलानका लागि रगतको नमुना दिएका हुन्।
थारू अझै पनि बाढी आएको स्थानमै पुगेर छोराको खोजी गर्न चाहन्छन्। छोराले काम गर्ने कम्पनी काठमाडौंमा रहेको र कम्पनीसँग समन्वय गरी घटनास्थल जाने तयारी भइरहेको उनले बताए। कम्पनीले खोजीमा सहयोग गरिरहेको उल्लेख गर्दै उनले घटनास्थलसम्म पुग्ने व्यवस्था मिलाइदिन आग्रह गरेका छन्।
जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेका अनुसार बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका पहिचान नखुलेका शवबाट पनि डीएनए परीक्षणका लागि आवश्यक नमुना संकलन गरिएको छ। चितवनमा आफन्तबाट लिइएका नमुनासँग ती शवको नमुना तुलना गर्न रगत संकलन गरिएको उनले जानकारी दिए।
संकलित नमुना थप परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइने जनाइएको छ। नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाका प्रहरी निरीक्षक सन्देशकुमार पोखरेलका अनुसार पहिचान नखुलेका शवबाट मुख्यतः दाँत र हड्डीका नमुना लिएर डीएनए प्रोफाइल तयार गरिन्छ। त्यसपछि आफन्तबाट संकलित नमुनासँग सफ्टवेयरको माध्यमबाट मिलान गरिनेछ।
डीएनए परीक्षणमा पहिलो प्राथमिकता आमाबुबा वा छोराछोरीजस्ता पहिलो तहका आफन्तलाई दिइने प्रहरीको भनाइ छ। त्यस्ता आफन्त उपलब्ध नभएको अवस्थामा दाजुभाइ वा दिदीबहिनीको नमुनाबाट पनि पहिचानको प्रक्रिया अघि बढाउन सकिने पोखरेलले बताए।
यसैबीच, नेपाल प्रहरीले पहिचान खुल्न नसकेका तथा बेवारिसे अवस्थामा रहेका शवलाई सम्बन्धित परिवारसम्म पुर्याउन स्वदेश तथा विदेशमा रहेका आफन्तलाई डीएनए नमुना उपलब्ध गराउन आग्रह गरेको छ।
चितवनबाहिर रहेका आफन्तले आफूलाई पायक पर्ने जिल्ला प्रहरी कार्यालय वा काठमाडौं महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालको प्याथोलोजी ल्याबमा दुई प्रति पासपोर्ट साइजको फोटोसहित सम्पर्क गरी ताजा रगतको नमुना दिन सक्ने व्यवस्था गरिएको छ।
विदेशमा रहेका पहिलो तहका आफन्तले सम्बन्धित देशस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगमार्फत डीएनए प्रोफाइल तयार गराउन सक्नेछन्। तयार भएको प्रोफाइलको सफ्ट कपी नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउन सकिने जनाइएको छ।