काठमाडौं । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमै अचानक ढलेका छन्।
खड्का ढलेपछि कांग्रेसका अन्य सांसदहरू तत्काल उनलाई उठाउन पुगेका थिए। सोही समयमा सांसद सोम शर्मा सभाकक्षमा बोलिरहेका थिए। घटना भएपछि सभामुख डोलप्रसाद अर्यालले शर्माको भनाइ केहीबेरका लागि रोकेका थिए।
केही समयपछि सभामुख अर्यालले शर्मालाई पुनः बोल्न अनुमति दिएका थिए।
संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीका अनुसार खड्काको प्रारम्भिक जाँचका क्रममा उच्च रक्तचाप देखिएको छ। संसद् सचिवालयमै स्वास्थ्य परीक्षण गरिएपछि थप उपचारका लागि उनलाई वीर अस्पताल लैजाने तयारी गरिएको गिरीले जानकारी दिए।
उनका अनुसार सांसद खड्काको स्वास्थ्य अवस्थाबारे थप विवरण अस्पतालमा गरिने परीक्षणपछि मात्र स्पष्ट हुनेछ।