काठमाडौं । बाढीपहिरोका कारण क्षतिग्रस्त नेपालको सडक तथा यातायात सम्पर्क पुनःस्थापनाका लागि चीनको सिजाङ स्वायत्त क्षेत्रले आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ।
सिजाङबाट पठाइएका सामग्रीमा दुईवटा बेलिब्रिज निर्माण गर्न आवश्यक विभिन्न उपकरण तथा संरचनात्मक सामग्री रहेका छन्। उक्त सामग्री शुक्रबार शिगात्सेस्थित रिजी बन्दरगाहमा नेपाललाई हस्तान्तरण गरिएको हो।
नेपालका तर्फबाट ल्हासास्थित महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले सहयोग सामग्री ग्रहण गरेका थिए।
चिनियाँ पक्षका अनुसार सहयोग सामग्रीमा बेली प्यानल, सस्पेन्सन रड, सपोर्ट फ्रेम, ब्रिज डेकिङ, आई–बिमलगायतका सामग्री छन्। यी सामग्री प्रयोग गरेर दुईवटा बेलिब्रिज निर्माण गर्न सकिने बताइएको छ।
बाढी तथा पहिरोबाट सडक र पुलमा पुगेको क्षतिका कारण अवरुद्ध भएका यातायात मार्ग सञ्चालनमा ल्याउन बेलिब्रिज उपयोगी हुने अपेक्षा गरिएको छ। चीनको सिजाङबाट प्राप्त सहयोगले प्रभावित क्षेत्रमा आवागमन पुनःसञ्चालनमा थप सहजता पुग्ने विश्वास गरिएको छ।