काठमाडौं । बाढीबाट प्रभावित २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा जारी खोज तथा उद्धार अभियानका क्रममा ६ जनाको शव फेला परेको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार शुक्रबार सल्लेटार क्षेत्रमा परिचालन गरिएको उद्धार टोलीले ती शव फेला पारेको हो। नेपाली सेनाको सहयोगमा शवहरू बट्टारसम्म ल्याइएको भए पनि अत्यधिक बिग्रिएको अवस्थामा रहेकाले उनीहरूको पहिचान हुन बाँकी छ।
बाढीपछि आयोजनाको सुरुङभित्र करिब ३०० जना कामदार तथा कर्मचारी फसेको हुन सक्ने आशंका गरिएको छ। सम्पर्कविहीन व्यक्तिहरूको खोजीका लागि शुक्रबार हेडवर्क्स तथा सुरुङ क्षेत्रमा दिनभर उद्धार टोली परिचालन गरिएको थियो।
उद्धार अभियानमा नेपाली सुरक्षाकर्मी तथा स्थानीय टोलीसँगै कोरियाली प्राविधिक, शेर्पा र विशेष खोज तथा उद्धार टोलीसमेत खटिएका छन्। खोजीलाई प्रभावकारी बनाउन १५ वटा भारी उपकरण, विशेष क्यामेरा र तालिमप्राप्त उद्धार कुकुरको प्रयोग भइरहेको इप्पानले जनाएको छ।
सुरुङभित्र जम्मा भएको पानी बाहिर निकाल्न उच्च क्षमताका पम्पहरू निरन्तर सञ्चालनमा राखिएका छन्। बाढी आउनुअघि आयोजनास्थलमा १ हजार ४३३ जना कामदार तथा कर्मचारी कार्यरत रहेकामा अहिलेसम्म ८७६ जनाको उद्धार भइसकेको जनाइएको छ।
ठूलो संख्यामा मानिसहरू अझै सम्पर्कविहीन रहेकाले शनिबार पनि खोजी अभियानलाई थप तीव्र बनाइने भएको छ। थप उपकरण तथा प्रविधिको प्रयोग गर्दै सुरुङ र हेडवर्क्स क्षेत्रलाई प्राथमिकतामा राखेर उद्धार टोली परिचालन गरिने इप्पानले जनाएको छ।