काठमाडौं । बाढी प्रभावित क्षेत्रमा सैनिकजस्तो देखिने पोशाकमा स्वयंसेवक परिचालन गरेको भन्दै विवादमा आएको ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज गरिएको छ।
भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीपछि राहत तथा उद्धारका गतिविधिमा संलग्न उक्त संस्थाका सदस्यहरू सैनिकको पोशाकसँग मिल्दोजुल्दो क्यामोफ्लाज पोशाकमा देखिएपछि यसको नाम र पोशाकलाई लिएर प्रश्न उठेको थियो।
संस्थाले प्रयोग गरेको ‘ग्रिन आर्मी’ नाम र स्वयंसेवकहरूले लगाएको पोशाकका कारण सुरक्षा निकायसँग मिल्दोजुल्दो देखिएको भन्दै आलोचना भएपछि संस्थाको दर्तामाथि समेत प्रश्न उठेको थियो।
‘ग्रिन आर्मी’ गैरनाफामूलक संस्थाका रूपमा २०७७ साल साउनमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो। पछिल्लो विवादपछि सम्बन्धित निकायले संस्थाको दर्ता खारेज गरेको हो।