२०८३, आश्विन १ गते

Sep 17 2026

मार्बल डाँडा घुम्न जाने हो भने फोहोर पनि सँगै फर्काऊँ : प्रदूषणविरुद्ध स्थानीयको आग्रह

मार्बल डाँडा घुम्न जाने हो भने फोहोर पनि सँगै फर्काऊँ : प्रदूषणविरुद्ध स्थानीयको आग्रह

शुक्रवार, भाद्र २६ २०८३
शुक्रवार, भाद्र २६ २०८३
  • समिक्षा थापाको रिपोर्ट

    ललितपुर । ललितपुरको गोदावरीबाट करिब ३ किलोमिटर माथि रहेको मार्बल डाँडा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। विभिन्न आकारका आकर्षक मार्बलजस्ता ढुङ्गा तथा चट्टानले भरिएको यस क्षेत्रको प्राकृतिक सौन्दर्यले पर्यटकलाई लोभ्याउने गरेको छ।

     

    पर्यटकको संख्या बढ्दै गएसँगै मार्बल डाँडामा फोहोरको समस्या पनि बढ्न थालेको छ। प्राकृतिक सौन्दर्य अवलोकन गर्न आउने केही पर्यटकले आफूले प्रयोग गरेका प्लास्टिकका बोतल, खानेकुराका प्याकेट, बट्टा तथा अन्य फोहोर जथाभावी फाल्ने गरेका कारण क्षेत्रको वातावरण प्रदूषित बन्न थालेको हो।

    कतिपय स्थानमा सिसाका बोतलसमेत फुटाएर छाड्ने गरिएको स्थानीयको भनाइ छ। यसले एकातिर डाँडाको प्राकृतिक सौन्दर्यमा असर पुर्‍याएको छ भने अर्कोतर्फ पर्यटक तथा स्थानीयका लागि जोखिमसमेत बढाएको छ।

    फोहोरको समस्या नियन्त्रण गर्न स्थानीय वन उपभोक्ता समितिले विभिन्न प्रयास गर्दै आएको छ। समितिले पर्यटकलाई प्लास्टिक तथा सिसाजन्य फोहोर जथाभावी नफाल्न आग्रह गर्दै आएको छ। आफूले प्रयोग गरेर ल्याएको सामग्रीबाट निस्कने फोहोर आफैं संकलन गरी तोकिएको स्थानमा व्यवस्थापन गर्नसमेत समितिले अपिल गरेको छ।

    समितिले आफ्नो तर्फबाट नियमित रूपमा फोहोर व्यवस्थापनको प्रयास गरिरहेको भए पनि पर्यटक स्वयं जिम्मेवार नबन्दा समस्या पूर्ण रूपमा समाधान हुन नसकेको जनाएको छ।

    मार्बल डाँडा प्राकृतिक सौन्दर्यका कारण सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। त्यसैले यसको संरक्षण र स्वच्छता कायम राख्न स्थानीय सरकार, वन उपभोक्ता समिति, स्थानीय बासिन्दा तथा पर्यटक सबै जिम्मेवार बन्न आवश्यक छ।

    पर्यटकीय क्षेत्रको संरक्षण केवल स्थानीय निकाय वा सम्बन्धित समितिको मात्र जिम्मेवारी होइन। यहाँ पुग्ने प्रत्येक व्यक्तिले पनि आफ्नो भूमिका बुझ्न आवश्यक छ।

    प्रकृति हेर्न जाने हो, प्रकृतिमा फोहोर छोड्न होइन। आफ्नो फोहोर आफैं व्यवस्थापन गरौँ र मार्बल डाँडाको प्राकृतिक सौन्दर्य जोगाऔँ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij