कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ बर्मेलीस्थित बाणगङ्गा नदीमा अचानक आएको बाढीका कारण जोखिममा परेका १२ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ।
शनिबार राति नदीमा पानीको बहाव एक्कासि बढेपछि ११ महिला र एक पुरुष नदी आसपासको क्षेत्रमा फसेका थिए। उनीहरूलाई सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण हेडक्वार्टर कपिलवस्तुबाट परिचालित टोलीले उद्धार गरी सुरक्षित स्थानमा सारेको हो।
सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीका अनुसार बाढीमा मानिसहरू फसेको सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मीलाई तत्काल घटनास्थलमा पठाइएको थियो। प्रहरी टोलीले जोखिमको अवस्थालाई ध्यानमा राख्दै उद्धार कार्य अघि बढाएको उनले बताए।
उद्धार गरिएकामा ७० वर्षीया गोपी परियार, ७० वर्षीया किरली परियार, २४ वर्षीया कविता कुमाल, ३८ वर्षीया रामी वयम्बु, ३२ वर्षीया मीना वयम्बु, ४५ वर्षीया बेलमति सुनार र ४५ वर्षीया सुश्मा जिसी रहेका छन्।
त्यस्तै १८ वर्षीया लालुमाया श्रेष्ठ, ३४ वर्षीया लक्ष्मी परियार, ४० वर्षीया बिना विक, २४ वर्षीया बिन्दा थापा र ३७ वर्षीय रेशम परियारलाई समेत सुरक्षित रूपमा बाहिर निकालिएको प्रहरीले जनाएको छ।
घटनाको खबर पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली तत्कालै घटनास्थल पुगेको थियो। टोलीले नदीमा बढ्दो पानीको बहावबीच उद्धार कार्य सञ्चालन गरेको थियो।
उद्धारपछि सबै १२ जनालाई सुरक्षित स्थानमा पुर्याइएको सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण हेडक्वार्टर कपिलवस्तुले जनाएको छ। बाढीको जोखिम कायमै रहेकाले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।