काठमाडौं । मनसुनी वायुको प्रभाव कायमै रहँदा आज देशका अधिकांश भू–भागमा मौसम बदली हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानभन्दा दक्षिणतर्फ रहेकाले देशभरको मौसममा बदली देखिएको हो। हाल सबै प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो पनि अधिकांश क्षेत्रमा आकाशमा बादल लागिरहनेछ। हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थान तथा मधेशसहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा थोरै स्थानमा मध्यमसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
यसैगरी, कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्र तथा गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
रातिको समयमा पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।
पहाडी तथा तराईका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव र भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातका साथै उद्धार र राहतका काममा समेत असर पर्नसक्ने भएकाले सम्बन्धित सबैलाई सतर्क रहन अनुरोध गरिएको छ।
महाशाखाले मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा हेर्न तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्नसमेत आग्रह गरेको छ।