काठमाडौं । बालबालिकाको अधिकार, सुरक्षा र संरक्षणप्रति सरोकारवालाको ध्यानाकर्षण गराउँदै आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ।
‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने नारासहित मनाइँदै गरेको यस दिवसले बालबालिकालाई सुरक्षित, सम्मानजनक र बालमैत्री वातावरण उपलब्ध गराउनुपर्ने आवश्यकतालाई जोड दिएको छ।
नेपालमा प्रत्येक वर्ष भदौ २९ गते राष्ट्रिय बाल अधिकार दिवस मनाउने गरिन्छ। बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार, शोषण तथा विभेदको अन्त्य गर्दै उनीहरूको शिक्षा, स्वास्थ्य, सुरक्षा र समग्र विकास सुनिश्चित गर्न दिवसले सचेतना फैलाउने उद्देश्य राखेको छ।
बाल अधिकारको प्रभावकारी कार्यान्वयनका लागि सरकारसँगै अभिभावक, नागरिक समाज, विद्यालय तथा अन्य सम्बन्धित निकायको भूमिका महत्वपूर्ण हुने भएकाले दिवसले सबै पक्षलाई थप जिम्मेवार बन्नसमेत आह्वान गरेको छ।
बालबालिकाको अधिकार सुरक्षित हुनु भनेको उनीहरूको वर्तमान सुरक्षित हुनु मात्र नभई देशको भावी पुस्तालाई सक्षम र सुरक्षित बनाउने आधारसमेत हो।