२०८३, आश्विन १ गते

Sep 17 2026

भोटेकोशी बाढी : मृतकको संख्या १ हजार ३९२ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

भोटेकोशी बाढी : मृतकको संख्या १ हजार ३९२ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

रोज नेपाल
सोमवार, भाद्र २९ २०८३
रोज नेपाल
सोमवार, भाद्र २९ २०८३
  • काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि हराइरहेका व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहँदा मृतकको संख्या १ हजार ३९२ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अझै ४ हजार ८९ जना सम्पर्कविहीन छन् ।

    प्रहरीको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ५४२ पुरुष, ३३६ महिला तथा ५१४ वटा मानव अंग मात्र रहेका छन् । तीमध्ये १०३ शवको पहिचान खुलेपछि आफन्तलाई जिम्मा लगाइएको छ । पहिचान हुन नसकेका शवको सनाखतका लागि डिएनए परीक्षणको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

    नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार बेपत्ता हुनेमा नेपाली नागरिकतर्फ २ हजार ९०७ पुरुष र ५७२ महिला छन् । विदेशी नागरिकतर्फ भने २७२ पुरुष र ३२८ महिला सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।

    बाढी प्रभावित क्षेत्रबाट अहिलेसम्म ९ हजार २८७ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ६ हजार ४०७ पुरुष, २ हजार ८३० महिला र पहिचान खुल्न नसकेका ५० जना छन् । उद्धारपछि २ हजार ७८१ जनालाई हाल विभिन्न होल्डिङ सेन्टरमा सुरक्षित राखिएको प्रहरीले जनाएको छ ।

    बाढीले ठूलो मानवीय क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई तीव्रता दिइएको छ । बेपत्ताको खोजी, घाइतेको उद्धार तथा फेला परेका शवको व्यवस्थापनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनका टोली निरन्तर परिचालित छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij