२०८३, आश्विन १ गते

Sep 17 2026

आज पनि वर्षाको सम्भावना, तीन प्रदेशका हिमाली–पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

आज पनि वर्षाको सम्भावना, तीन प्रदेशका हिमाली–पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

रोज नेपाल
मंगलवार, भाद्र ३० २०८३
रोज नेपाल
मंगलवार, भाद्र ३० २०८३
  • काठमाडौं । मनसुनी वायुको प्रभाव कायमै रहँदा आज देशका अधिकांश भू–भागमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ। मनसुनको न्यून चापीय रेखा अहिले पनि सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार हाल कोशी र मधेश प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली छ। कोशीको हिमाली क्षेत्रका केही स्थान तथा बागमती र गण्डकीका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। तराईका अधिकांश क्षेत्रमा भने मौसम तुलनात्मक रूपमा सफा रहेको छ।

    दिउँसो देशभर बदली रहने अनुमान गरिएको छ। हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्ने विभागले जनाएको छ। बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा केही स्थान तथा कोशी, मधेश र सुदूरपश्चिमका तराई क्षेत्रमा थोरै स्थानमा समेत वर्षाको सम्भावना छ।

    दिउँसो विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

    राति पनि देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली–पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

    रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा केही स्थान तथा मधेश र सुदूरपश्चिमका तराई क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। कोशी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा गेग्रानसहितको बाढी, पहिरो र भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात र उद्धार तथा राहतका कामसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ।

    महाशाखाले मौसमसम्बन्धी पछिल्ला सूचना तथा पूर्वानुमान नियमित रूपमा हेर्नसमेत सर्वसाधारणलाई अनुरोध गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij