२०८३, आश्विन १ गते

Sep 17 2026

भोटेकोशी बाढीको क्षति बढ्दो : १,३९५ शव फेला, ५,१३० अझै बेपत्ता

भोटेकोशी बाढीको क्षति बढ्दो : १,३९५ शव फेला, ५,१३० अझै बेपत्ता

रोज नेपाल
मंगलवार, भाद्र ३० २०८३
रोज नेपाल
मंगलवार, भाद्र ३० २०८३
  • काठमाडौं । भोटेकोशी बाढीपछि बेपत्ता तथा मृतकको संख्या अझै बढ्दो क्रममा रहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म १ हजार ३९५ जनाको शव फेला परेको छ भने ५ हजार १३० जना अझै सम्पर्कविहीन छन्।

    सोमबार सार्वजनिक गरिएको प्राधिकरणको विवरणअनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। चितवनमा ३६४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२ र रसुवामा १८६ शव फेला परेको छ।

    त्यसैगरी गोरखामा ७७, धादिङमा ७२ तथा तनहुँमा ३८ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। उपचारका क्रममा काठमाडौंमा दुई जनाको समेत मृत्यु भएको छ।

    फेला परेका शवमध्ये अहिलेसम्म १०४ जनाको मात्र पहिचान खुलेको छ। पहिचान हुन बाँकी शवको सनाखत गर्न डिएनए नमुना परीक्षणलगायत आवश्यक प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ।

    बाढीपछि उद्धार अभियानअन्तर्गत हालसम्म १३ हजार ७३७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएका नागरिकमध्ये विभिन्न ३३ वटा होल्डिङ सेन्टरमा राखिएकाहरूमा नुवाकोटमा १ हजार ४९९, रसुवामा ८२५ र धादिङमा ९४ जना रहेका छन्।

    उता, बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार पनि निरन्तर भइरहेको छ। विभिन्न १९ वटा अस्पतालमा ३४१ जनाको उपचार गरिएकामा २७८ जना उपचारपछि घर फर्किसकेका छन्। सुरक्षा निकायमार्फत थप ९ हजार ३५८ जनाले स्वास्थ्य सेवा लिएको प्राधिकरणले जनाएको छ।

    प्रभावित नागरिकको मानसिक तथा स्वास्थ्य परामर्शका लागि स्वास्थ्य मन्त्रालयले १५० जना परामर्शदाता परिचालन गरेको छ।

    त्यस्तै, नेपाल प्रहरीले सञ्चालन गरेका १६६ वटा सामुदायिक जनचेतनामूलक कार्यक्रममार्फत ४५ हजार २३८ जनालाई परामर्श प्रदान गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिएकी छन्।

    बेपत्ता नागरिकको खोजी, शव पहिचान तथा प्रभावितको उद्धार र उपचारलाई थप प्रभावकारी बनाउने काम भइरहेको प्राधिकरणले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij