२०८३, आश्विन १ गते

Sep 17 2026

नेपाल कबड्डी लिगको दोस्रो संस्करणको ड्राफ्टका लागि ५१२ नेपाली खेलाडी दर्ता

नेपाल कबड्डी लिगको दोस्रो संस्करणको ड्राफ्टका लागि ५१२ नेपाली खेलाडी दर्ता

सोमवार, आश्विन २७ २०८२
सोमवार, आश्विन २७ २०८२
  • काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) मा खेलाडीको आकर्षण अत्याधिक बढेको छ। सिजन २ को ड्राफ्टका लागि ५ सय १२ जना नेपाली खेलाडी दर्ता भएको एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले सोमबार जनाएको छ।

    एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले सोमबार बताए, ‘पहिलो सिजनको ड्राफ्टमा २ सय ७८ जना नेपाली खेलाडी एनकेएलमा दर्ता भएका थिए।

    दोस्रो सिजनको लागि खोलिएको आवेदनबाट ५ सय १२ स्वदेशी खेलाडी दर्ता भएका छन्। त्यसैले हामीले एनकेएलको क्रेज र खेलाडीको आकर्षण अत्याधिक बृद्धि भएको पाएका छौं।’

    एनकेएल सिजन २ को लागि दर्ता भएका खेलाडीमा बागमती प्रदेशबाट सर्बाधिक १ सय ५५ खेलाडी छन्। त्यस्तै, सुदूरपश्चिमका १ सय ३, लुम्बिनीका ९८, मधेश प्रदेशका ७०, कोशीका ३५, कर्णालीका २७ र गण्डकीका २४ जना छन्। गत वर्ष भएको पहिलो संस्करणमा ६ सहरका ६ टिमले एनकेएलमा प्रतिस्पर्धा गर्न ड्राफ्टमार्फत् ८४ खेलाडी लिएका थिए, जसमा नेपाली खेलाडीको संख्या ६६ थियो ।

    ‘बिदेशी खेलाडीको आकर्षण पनि अत्याधिक बढेको छ। धेरै देशका खेलाडीले एनकेएल खेल्न चाहेका छन्। हामी दोस्रो सिजनको ड्राफ्टलाई ४०–५० जना बिदेशी खेलाडी लिनेछौं। उनीहरू पक्कैपनि माथिल्लो स्तरका हुनेछन्,’ बेगानीले बताए । पहिलो सिजन थाइल्यान्ड, बंगलादेश, श्रीलंका र केन्या गरी चार देशका १८ खेलाडीले एनकेएलमा आएका थिए ।

    नेपाली कबड्डी इतिहासमै फ्रेन्चाइज टोलीको ऐतिहासिक प्रतियोगिताको रुपमा एनकेएलको सिजन १ १७–३१ जनवरी, २०२५ मा भव्यताकासाथ सम्पन्न भएको थियो । प्रेन्चाइजको आधारमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, बुटवलको हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स गरी ६ सहरका ६ टिमले प्रतिस्पर्धा गरेका थिए ।

    राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजित रोमान्चक फाइनलमा काठमाडौंलाई ४३–४१ ले पराजित गर्दै जनकपुर एनकेएल च्याम्पियन भएको थियो । पहिलो सिजनका दुई कप्तान काठमाडौंका घनश्याम मगर र हिमालयन रेइडर्सका गणेश पार्की अहिले भारतको प्रो कबड्डी लिग (पीकेएल) सिजन १२ खेल्न व्यस्त छन् ।
    सिजन २ को ड्राफ्ट र प्रतियोगिताको मिति चाँडै सार्वजनिक गर्ने बताइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij