२०८३, आश्विन १ गते

Sep 17 2026

१९ अंकले घटेर बन्द भयो सेयर बजार

१९ अंकले घटेर बन्द भयो सेयर बजार

मंगलवार, आश्विन २८ २०८२
मंगलवार, आश्विन २८ २०८२
  • काठमाडौं ।  मंगलबार नेप्से परिसूचक १९.४३ अंकले घटेको छ। बजार बन्द हुँदा नेप्से २५२८ बिन्दुमा पुगेको हो। 

    धितोपत्र बोर्डले लगानीकर्ताहरूको माग पुरा गर्ने प्रतिबद्धता जनाएको खबर बाहिरीएसँगै सोमबार नेप्सेमा सुधार देखिएको थियो। 

    धितोपत्र बोर्डले पुँजी बजार सुधार कार्यदलले दिएको प्रतिवेदनअनुसार सुधारका काम अगाडि बढाउने प्रतिबद्धता जनाएको हो। 

    तर, त्यसको दोस्रो दिनमै (मंगलबार) नेप्से परिसूचक घटेको छ। बजार परिसूचक मात्रै होइन यसदिन कारोबार रकम पनि उच्चदरमा घटेको छ। 

    सोमबार चार अर्ब ९७ करोड रूपैयाँको कारोबार भएकोमा मंगलबार तीन अर्ब ३६ करोड रूपैयाँको कारोबार भएको हो। 

    हालै राष्ट्र बैंकले एकल ग्राहक कर्जा सीमा हटाएपछि पनि बजार बढ्ने आशामा देखिएको थियो। तर, भदौ २४ गतेको प्रदर्शनको कारण बीमा कम्पनीमा परेको असर, असोजमा बाढीबाट जलविद्युत आयोजनाहरूमा गरेको क्षति, प्रदर्शनपछि सरकार बिस्तारमा देखिएको गतिरोध, धुमिल राजनीतिक परिदृश्य लगायतको कारण लगानी वातावरण बन्न सकिरहेको छैन। 

     

    धितोपत्र बोर्डले पुँजी बजार सुधार कार्यदलले दिएको प्रतिवेदनअनुसार सुधारका काम अगाडि बढाउने प्रतिबद्धता जनाएपनि बोर्डका कर्मचारीहरू भने अझै आन्दोलनमै छन्। 

    बोर्डको काम नै ठप्प पारेर कर्मचारीहरू आन्दोलनमा रहेकाले प्रतिबद्धता अनुसार सुधारका काम कसरी बढ्छ भन्ने अन्योल कायमै छ।

     

    यही कारण पनि लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा देखिएका छन्। 
    पछिल्लो समय अन्य वातावरणमा सुधार हुँदै गएको पनि देखिन्छ।

    बाढीले प्रभावित भएका आयोजनामध्ये पञ्चकन्या माइ हाइड्रोपावरको उत्पादन फेरि सुरू भएको छ। कम्पनीहरूले लाभांश प्रस्ताव गर्ने क्रम चलिरहेको छ।

    सकारात्मक खबर प्रसारित हुँदै जाँदा बजारले वृद्धिको बाटो समात्न सक्ने बजार विश्लेषकहरू बताउँछन्।

    केही समयलाई भने लगानीकर्ताहरूले उच्च दरमा घटेका सेयर किन्दै गर्न सकिने र अन्य सेयरमा भने पर्ख र हेरको नीति अवलम्बन गर्न सकिने उनीहरूको भनाइ छ।  

    मंगलबार तीन सय १७ लगानी उपकरण कारोबारमा आउँदा ५२ वटाको मूल्य बढेको छ। दुई सय ४६ वटाको मूल्य घटेको छ भने बाँकीको स्थिर छ। 

    कारोबारमा आएकामध्ये सामूहिक लगानी कोष, व्यापार मुलक र ‘अन्य’ बोहक सबै समूह घटेका छन्। 

    शुभम पावरको सबैभन्दा धेरै १० प्रतिशतले मूल्य बढेर सर्किट ब्रेक लागेको छ। कम्पनीको नौ सय ८४ रूपैयाँमा अन्तिम कारोबार भएको हो।

    त्यस्तै, समाज लघुवित्त वित्तीय संस्थाको सबैभन्दा धेरै १० प्रतिशतले मूल्य घटेको छ। कम्पनीको दुई हजार तीन सय १५ रूपैयाँमा अन्तिम कारोबार भएको हो। 

    नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ३२ करोड रूपैयाँको सेयर कारोबार भएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij