२०८३, आश्विन १ गते

Sep 17 2026

कक्षा १२ को परीक्षा केन्द्र टाढा हुँदा विद्यार्थीलाई कठिनाई, सांसद खुश्बु ओलीद्वारा सरकारलाई ध्यानाकर्षण

कक्षा १२ को परीक्षा केन्द्र टाढा हुँदा विद्यार्थीलाई कठिनाई, सांसद खुश्बु ओलीद्वारा सरकारलाई ध्यानाकर्षण

रोज नेपाल
बुधवार, बैशाख २ २०८३
रोज नेपाल
बुधवार, बैशाख २ २०८३
  • राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा की सांसद खुश्बु ओलीले कक्षा १२ को अन्तिम परीक्षाका लागि तोकिएको परीक्षा केन्द्रका कारण विद्यार्थीहरूले भोग्नुपर्ने कठिनाईप्रति सरकारलाई ध्यानाकर्षण गराएकी छिन्। 

    सामाजिक सञ्जाल फेसबुकमा बुधबार एक भिडियो सार्वजनिक गर्दै उनले जाजरकोट लगायतका अन्य दुर्गम क्षेत्रका विद्यार्थीहरूले परीक्षा केन्द्रको अव्यवस्थित छनोटका कारण ठूलो समस्या झेलिरहेको  बताएकी हुन्।

    ओलीका अनुसार जाजरकोटमा रहेको श्री त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीहरूले यसअघि आफ्नै विद्यालय वा सदरमुकामस्थित भेरी ज्ञानोदय क्याम्पसमा परीक्षा दिँदै आएका थिए। तर, यस वर्ष वैशाख १४ गतेदेखि सुरु हुने परीक्षाका लागि उक्त केन्द्रलाई परिवर्तन गरी सदरमुकामबाट करिब ३० किलोमिटर टाढा रहेको श्री दीपेन्द्र माध्यमिक विद्यालय, कालाभुँरामा तोकिएको छ।

    ३० किलोमिटरको दूरी, कठिन भौगोलिक अवस्था र यातायातको असुविधाका कारण विद्यार्थीहरूलाई आवतजावतमा निकै समस्या हुने सांसद ओलीले बताइन्। साथै, नयाँ तोकिएको परीक्षा केन्द्र वरिपरि पर्याप्त बस्ती नभएकाले विद्यार्थीहरूलाई त्यहाँ बसेर परीक्षा दिन आवास र खानपानको व्यवस्थापन गर्न समेत अत्यन्तै कठिन देखिएको उनको भनाइ छ।

    यस्तो निर्णयले विद्यार्थीहरूको परीक्षा नै छुट्न सक्ने जोखिम रहेको भन्दै विद्यालय व्यवस्थापन समिति र अभिभावकहरूले समेत चिन्ता व्यक्त गरेको उनले जानकारी दिइन्।यस्तो निर्णयले विद्यार्थीहरूको परीक्षा नै छुट्न सक्ने जोखिम रहेको भन्दै विद्यालय व्यवस्थापन समिति र अभिभावकहरूले समेत चिन्ता व्यक्त गरेको उनले जानकारी दिइन्।

    यस विषयमा आफूले चैत २३ गते नै शिक्षा मन्त्रालयमा ज्ञापनपत्र दर्ता गराएको र शिक्षामन्त्री सुमना पोखरेल तथा मन्त्रालयका सचिवसँग भेट गरी ध्यानाकर्षण गराएको ओलीले बताएकी छिन्। मन्त्री र सचिवबाट सम्बोधन गर्ने आश्वासन पाए पनि परीक्षा नजिक आइसक्दा समेत ठोस निर्णय हुन नसकेकोमा उनले गुनासो गरेकी छिन्।

    सांसद ओलीले यो समस्या जाजरकोटको एउटा विद्यालयको मात्र नभई देशभरका धेरै दुर्गम क्षेत्रका परीक्षा केन्द्रहरूको साझा समस्या भएको उल्लेख गरिन्। उनले परीक्षा केन्द्र तोक्दा भौगोलिक पहुँच, यातायातको सुविधा र विद्यार्थीको सुरक्षालाई अनिवार्य रूपमा प्राथमिकतामा राखेर निर्णय गर्न शिक्षा मन्त्रालय र सम्बन्धित निकायलाई आग्रह गरेकी छिन्। 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij