जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ स्थित कमला बजारको सुकुमवासी बस्तीकी ६७ वर्षीया पुनमदेवी पजियार मंगलबार निकै चिन्तित देखिन्थिन् । बसिरहेको स्थानबाट विस्थापित हुनुपर्ने त्रास उनको मनमा थियो ।
पुनमदेवी पजियार, प्रमोद साह, देवु रावल र रामनाथ साह मात्र नभई, यहाँ बस्नेहरू कुनै न कुनै नियतिले सुकुमवासी भए । अनि, सुरक्षित र बस्ने थातथलो खोज्दै यहाँ आइपुगे । यो बस्तीमा करिब ४५ परिवार सुकुमवासी छन् । बस्ती खाली गर्ने सूचना टाँसिएपछि बस्तीमा त्रास बढेको छ ।
बस्तीको बीचमा रहेको मन्दिरको पिलरमा ३ वैशाखमा टाँसिएको सूचनाले उनलाई त्रसित बनाएको छ । बस्तीको पूर्वपट्टि रहेको कमला सिँचाइ व्यवस्थापन कार्यालयले जारी गरेको उक्त सूचनामा अतिक्रमण गरिएको जग्गा खाली गराउने उल्लेख छ।
सूचनामा भनिएको छ, ‘नहर प्रणालीको ‘राइट अफ वे’ तथा क्याम्पहरूको नापी–नक्सा बमोजिमको जग्गामा अतिक्रमण नगर्न र विगतमा गरिएको अतिक्रमण १५ दिनभित्र हटाउन अनुरोध गराइन्छ । म्यादभित्र अतिक्रमण नहटाइएमा कानुनबमोजिम कारबाही गरिने छ ।
यो सूचना देखेपछि पुनमदेवीको चिन्ता झन् बढेको छ । चिन्ताले उनलाई खाना पनि रुच्न छाडेको छ । एक दशकअघि जनकपुरमा भोग्नुपरेको विस्थापनको पीडा फेरि दोहोरिने हो कि भन्ने डरले उनलाई सताएको छ ।
सूचना टाँसेको दिनदेखि म राम्ररी निदाउन सकेको छैन । राति नै आएर घर भत्काइदिन्छन् कि दिउँसो भत्काउँछन्, केही थाहा छैन,’ उनले भनिन् ।
एक दशकअघिसम्म उनको घर जनकपुरधाम उपमहानगरपालिका–१ सीताचोकस्थित रेल्वे स्टेसनको जग्गामा थियो । रेल्वे विस्तारका क्रममा घर भत्काइएपछि उनी सुरक्षित स्थानको खोजीमा कमला बजारको सुकुमवासी बस्तीमा परिवारसहित पुगिन् । हाल उनको सात जनाको परिवार छ । अब फेरि घर भत्काइएपछि कहाँ जाने र कसरी परिवार चलाउने भन्ने चिन्ताले उनलाई पिरोलेको छ ।
उनी जस्तै चिन्तित छन् बस्तीका प्रमोद साह । पलदारी गरेर पाँच जनाको परिवार पाल्दै आएका साह ९ वर्षदेखि यस बस्तीमा फुसको घर बनाएर बस्दै आएका छन् । यसअघि उनी १८ वर्ष वीरगञ्जमा भाडामा बसेर मजदुरी गर्थे । छोरी लक्ष्मीको विवाह यतैतिर भएपछि सार्वजनिक जग्गा रहेको जानकारी पाएर यहाँ आएर बस्न थालेको उनको भनाइ छ ।
प्रमोदको पुर्ख्यौली घर महोत्तरीको पिपरा गाउँपालिका–७ रतौली हो । रोजगारीको खोजीमा दुई पटक विदेश (मलेसिया र कतार) जाँदा पनि उनलाई भाग्यले साथ दिएन । कतारमा कम्पनी बन्द भएपछि तीन महिनामै फर्किनुपर्यो भने मलेसियामा काम गर्ने क्रममा घाइते भएपछि फर्किन बाध्य भए । वैदेशिक रोजगारीको ऋण तिर्नकै लागि आफ्नो भागमा परेको पाँच कठ्ठा जग्गा र घडेरी बेच्नुपरेको उनले बताए ।
उनले भने, ‘अब कमला सिंचाइले बस्ती खाली गर्न उर्दी जारी गरेको छ । हामी कहाँ जाने, कसरी बाँच्ने ?’
घर भत्काउनुअघि आफूहरूको उचित व्यवस्थापन गरिदिन उनले सरकारसँग आग्रह गरेका छन् ।
यसै बस्तीका देवु रावलको दिमागमा काठमाडौंका सुकुमवासी बस्तीहरू डोजरले भत्काइरहेको दृश्य दिमागमा घुमिरहन्छ । ‘उता डोजरले घर भत्काएको छ । हाम्रो पनि त्यसरी नै भत्काउने हो कि भन्ने शंका लागिरहेको छ,’ देवुले भने ।
सर्लाहीको सागरनाथ वन विकास परियोजनाको जंगल छेउबाट उनी यो बस्तीमा सरेको ११ वर्ष भयो । ‘यहाँ जग्गा खाली छ, बस्न दिन्छ भन्ने थाहा पाएपछि हामी सपरिवार आएका हौं । अब खाली गराउने भन्दै छन् । व्यवस्थापन गरेर भत्काए हुन्थ्यो । त्यसो भएन भने के गर्ने,’ रावल भन्छन् । उनी घर बनाउने काम गरेर ७ जनाको परिवार पाल्दै आएका छन् ।
बस्ती खाली गर्ने सूचनाले ६५ वर्षीय रामनाथ साह पनि डराएका छन् । ‘केही दिन अघि सूचना टाँसिएको थियो । अब हाम्रो के हुन्छ ? कहाँ जाने ?,’ उनको चिन्ता छ ।
उनी यो बस्तीमा आएको ११ वर्ष भयो । सिरहा मिर्चैयाको भगवतपुरमा उनको एक कठ्ठा जग्गा थियो । दुई वटा सडक गएपछि उनको जग्गा १० धुर बाँकी बस्यो । त्यो पनि ऋणमा बिक्यो । अनि सुकुमवासी भए । यहाँ बस्ती बस्न दिने कुरा चल्दै थियो, अनि यहाँ आएर बस्न थालेका हुन् ।
पुनमदेवी पजियार, प्रमोद साह, देवु रावल र रामनाथ साह मात्र होइन, यहाँ बस्नेहरू कुनै न कुनै नियतिले सुकुमवासी भए । अनि, सुरक्षित र बस्ने थातथलो खोज्दै यहाँ आइपुगे । यहाँ करिब ४५ घरपरिवार सुकुमवासी छन् । अहिले बस्ती खाली गर्ने सूचना टाँसले सिंगो सुकुमवासी बस्तीमा त्रासमा छ । कतिपय रातभर सुत्न सकेका छैनन् ।
पूर्व–पश्चिम राजमार्गसँगै यो बस्ती टाँसिएको छ । कमला नदीस्थित पोर्ताहामा पर्ने यो बस्तीमा कमला सिंचाई व्यवस्थापन कार्यालयको करिब दुई बिघा जग्गामा बसोबास छ । एक दर्जनभन्दा बढी जातजातिको बसोबास छ ।
कतिबेला आएर घरमा डोजर लगाइदिने हो भन्ने उनीहरूको चिन्ता छ । काठमाडौंमा सुकुम्बासी बस्ती डोजर र सुरक्षाकर्मी लगाएर खाली गराएको भिडियो, समाचार उनीहरूले मोबाइलमा प्रसस्तै देखेका छन् । उजारेपछि यहाँका बासिन्दा कहाँ जाने, कहाँ बस्ने भन्ने चिन्ताले सबैलाई पिरोलेको बस्तीका अग्रज रामनाथ साहको भनाइ छ ।
‘हामी वास्तविक सुकुम्बासी हौं । विभिन्न ठाउँबाट आएर यहाँ बसिरहेका छौं । कसैको यहाँको झोपडी बाहेक केही छैन । व्यवस्थापन नगरी उजारेपछि हामी कहाँ जाने भन्ने सबैलाई चिन्ता छ,’ उनले सुनाए ।
हुन त प्रधानमन्त्री बालेन शाहले सार्वजनिक गरेको शासकीय सुधारको १०० वटा बुँदामा अतिक्रमित सार्वजनिक जग्गा खाली गराएर व्यवस्थित गर्ने र सुकुमवासीहरूको पहिचान गरी व्यवस्थापन गर्ने उल्लेख छ।
बस्तीकी जुमनी खातुनले पहिला आफूहरूलाई व्यवस्थापन गरिदिन आग्रह गरिन् । ‘हामी सुकुमवासी यहाँबाट हटेपछि कहाँ जाने ? पहिला कति दुई–चार धुर जग्गा व्यवस्थापन गरिदेओस् अनि मात्र घर भत्काओस्,’ उनी गुहार लगाउँछिन्।
किसुन बस्तीका किसुन पासवन पनि पहिला सुकुमवासीको व्यवस्थापन गरेर मात्र बस्ती उठाउनुपर्ने पक्षमा छन् । ‘पहिले घर नै भत्कायो भने हाम्रा बालबच्चा कहाँ बस्छन् ? त्यसकारण पहिले घर बनाइदेओस् । अनि भत्काओस्,’ उनको भनाइ छ ।
कमला सिंचाइ तथा व्यवस्थापन कार्यालयका प्रमुख रंधीरकुमार साहले सुकुमवासी बस्ती खाली गराउन सूचना जारी गरेको स्वीकारे । ‘सूचना यो कार्यालयले टाँसेको हो । आफ्नो कार्यालय मातहत पर्ने जग्गाको पहिचान गर्ने काम भइरहेको छ र अतिक्रमित जग्गालाई कसरी व्यवस्थित गर्ने कुरामा कार्यालय अगाडि बढेको छ,’ उनले भने । संघीय सरकारले नै परिपत्र गरेपछि आफ्नो जग्गा संरक्षण गर्न यो कदम चालेको उनको भनाइ छ ।