२०८३, आश्विन १ गते

Sep 17 2026

साहित्यकार खगिन्द्रा खुसीलाई 'रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार'

साहित्यकार खगिन्द्रा खुसीलाई 'रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार'

रोज नेपाल
बुधवार, बैशाख १६ २०८३
रोज नेपाल
बुधवार, बैशाख १६ २०८३
  • काठमाडौँ । तेस्रो आँखा साहित्यिक समूहको आयोजनामा काठमाडौँको मध्य बानेश्वरमा एक भव्य समारोहका बीच 'रुपान्तरण राष्ट्रिय आख्यान पुरस्कार' अर्पण तथा साहित्यिक विमर्श कार्यक्रम सम्पन्न भएको छ। नेपाली साहित्यका विभिन्न आयामबारे विमर्श सहित सम्पन्न उक्त कार्यक्रममा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
     
    कार्यक्रममा नेपाली आख्यान क्षेत्रमा उल्लेख्य योगदान पुर्याएबापत साहित्यकार खागिन्द्रा खुसीलाई 'रुपान्तरण राष्ट्रिय आख्यान पुरस्कार'बाट सम्मानित तथा पुरस्कृत गरिएको छ। वरिष्ठ साहित्यकार एवं कार्यक्रमका प्रमुख अतिथि शैलेन्द्र साकारले खुसीलाई पुरस्कार हस्तान्तरण गर्दै उनको लेखनले नेपाली समाजको यथार्थलाई जीवन्त रूपमा चित्रण गरेको बताउनुभयो।
     
    २०८३ वैशाख १३ गते आयोजना गरिएको कार्यक्रममा 'खुसीको गाउँ' उपन्यासमाथिको समीक्षात्मक टिप्पणी गरिएको थियो । उक्त कृतिमाथि समीक्षा गर्दै डा. कमल राज शर्माले उपन्यासको शिल्प र सामाजिक चेतनामाथि प्रकाश पार्नुभयो भने लेखक राजेश विद्रोहीले उपन्यासले बोकेको दार्शनिक र वर्गीय मुद्दाहरूको चर्चा गर्नु भएको थियो । साहित्यिक विमर्शका अर्का वक्ता पूर्व राजदूत डा. निर्मल विश्वकर्माले 'गैरआवासीय नेपाली संघ (NRNA) र नेपाली साहित्य' विषयमा आफ्नो गहन धारणा राख्दै प्रवासमा नेपाली भाषा र साहित्यको संरक्षणमा भइरहेका प्रयासबारे चर्चा गर्नु भएको थियो। प्रसिद्ध लेखक तथा अनुवादक युयूत्सु R.D. शर्माले 'विश्वमा नेपाली साहित्यको वर्तमान स्थिति' विषयमा विमर्श प्रस्तुत गर्दै नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा लैजान अनुवादको भूमिका अपरिहार्य रहेको औंल्याउनुभयो।
     
    कार्यक्रममा साहित्यकार अन्चु सुवेदी, कवि विष्णु भट्टराई, कवि रामेश्वर राउत 'मातृ दास' , कवि दिन दया रिजाल लगायतका स्रष्टाहरूले आ-आफ्ना रचनाहरू प्रस्तुत गरेका थिए। सो अवसरमा विभिन्न साहित्यकारहरू र बौद्धिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।
     
    केदार बस्नेतको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण कवि दिनादय रिजालले गर्नुभएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले नेपाली आख्यानको श्रीवृद्धिमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij