काभ्रे। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले स्थानीय तहमै पुगेर सेवा प्रवाह सुरु गरेपछि खानीखोला गाउँपालिकाका सेवाग्राहीले खुसी व्यक्त गरेका छन् । गाउँपालिकामै सञ्चालन गरिएको शिविरमार्फत २९ वटा राष्ट्रिय परिचयपत्र र ४ वटा राहदानी वितरण गरिएको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत सुनिता थापाका अनुसार राष्ट्रिय परिचयपत्र, राहदानी सेवा उपलब्ध गराइएको हो । यस अघि मण्डनदेउपुर नगरपालिका र महाभारत गाउँपालिकामा समेत यस्ता सेवा सञ्चालन गरिएको थियो ।
खानीखोला गाउँपालिकामा वैशाख १८ गतेदेखि २० गतेसम्म सेवा उपलब्ध गराएको छ । प्रशासनका अनुसार राष्ट्रिय परिचयपत्र तयार भइसकेका नागरिकलाई वितरण गर्ने, राहदानी प्रक्रियाका सबै चरण पूरा गरेका सेवाग्राहीलाई राहदानी उपलब्ध गराईएको हो । सेवा गाउँमै पुगेपछि विशेष परिस्थितिमा रहेका नागरिकले राहत महसुस गरेका छन् । किरियापुत्रीमा बसेकाहरूले समेत गाउँपालिकामै सेवा पाएका छन् भने ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिहरूलाई लामो दूरी यात्रा गर्नुपर्ने कठिनाइ र बाध्यता हटेको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार तेमाल गाउँपालिकामा भने अशक्त नागरिकको घरमै पुगेर नागरिकता वितरण गरिएको थियो । प्रशासनले आगामी दिनमा जिल्लाका अन्य दुर्गम स्थानीय तहमा समेत यस्ता सेवा विस्तार गर्ने तयारी गरेको जनाएको छ ।