२०८३, आश्विन १ गते

Sep 17 2026

“ अङ्कल-आन्टी ” को भीडमा हराएका हाम्रा रैथाने नाताहरू

“ अङ्कल-आन्टी ” को भीडमा हराएका हाम्रा रैथाने नाताहरू

शुक्रवार, श्रावण १ २०८३
शुक्रवार, श्रावण १ २०८३
  •  दिनेशकुमार दाहाल ( दारीबा) 
    हाम्रो वैदिक सनातन संस्कृति केवल पूजापाठ र रीतिथितिमा मात्र सीमित छैन, यो त ब्रह्माण्डका हरेक जीव, प्रकृति र मानवबीचको अन्तरसम्बन्धलाई सम्मान गर्ने जीवनपद्धति हो । हामी प्रकृतिपूजक हौँ, जहाँ रूखलाई देवता, नदीलाई आमा र धर्तीलाई माता मानेर पुजिन्छ । प्रकृतिसँगको यही गहिरो सामिप्यता हाम्रा पारिवारिक नातागोतामा पनि झल्किन्छ तर, आज आधुनिकताको नाममा हाम्रा ती अमूल्य र पहिचानयुक्त नाताहरू बिस्तारै ओझेल पर्दै गइरहेका छन् । 
    हाम्रो समाजमा नाता केवल बोलाउने माध्यम मात्र थिएन, त्यसले सम्बन्धको गहिराइ र मर्यादालाई पनि तय गथ्र्यो। विचार गरौँ त, हाम्रा शब्दहरूमा कति धेरै विविधता र मिठास छ ।
    जिजुबुबा — जिजुमुवा, हजुरबा—हजुरआमा, बुबा—आमा, काका—काकी, सासू—ससुरा सम्धी — सम्धिनि र मामा माइज्यु यी नाताहरूले वंशको जरा र संरक्षणको अनुभूति गराउँछन् । दाजु— भाउजू, भाइ— बुहारी, दिदी—भिनाजु, बहिनी—ज्वाइँ यी नाताहरूमा एउटा बलियो खम्बा र सुख(दुःखको छहारी लुकेको हुन्छ । जेठाजु, देवर, जेठानी, देउरानी, नन्द, आमाजू, फुपु, पुसाईं, साला—साली, भान्जा—भान्जी, अनि आत्मीयताले भरिएका सोल्टा— सोल्टी साथि ,संगिनि र मीत, मितिनि यी प्रत्येक नाताको आफ्नै दायित्व थियो, आफ्नै प्रकारको ठट्टा र आदरको सीमारेखा थियो। एउटा शब्द सुन्नासाथ त्यो मान्छेसँगको हाम्रो सम्बन्ध कति नजिकको हो र उसप्रतिको हाम्रो कर्तव्य के हो भन्ने कुरा स्पष्ट हुन्थ्यो । नाता नै मानिसको पारिवारिक पहिचान र अस्तित्वको बलियो खम्बा थियो ।
    आजभोलि हामी कता जाँदैछौँ ? पश्चिमा संस्कृतिको अन्धो अनुकरण र आधुनिक बन्ने होडमा हामीले यी सबै रैथाने र आत्मीय शब्दहरूलाई तिलाञ्जली दिँदैछौँ । आज घरभित्र र बाहिर, जोसुकैलाई पनि अङ्कल—आन्टीु, ब्रो वा कजन , सुड्डो  भनिदिँदा काम त चल्छ, तर त्यो शब्दमा न त कुनै आत्मीयता छ, न त हाम्रो माटोको सुगन्ध ।
    जब जेठाजु र देवर दुवै दाजु र अङ्कल बन्छन्, जब जेठानी र देउरानी दुवै ुआन्टी र दिदी मा रूपान्तरित हुन्छन्, तब सम्बन्धको त्यो विशिष्ट पहिचान र आदरको मर्म कतै न कतै मर्दछ । हामीले नातालाई सजिलो त बनायौँ, तर सम्बन्धमा हुनुपर्ने न्याय र गहिराइलाई गुमायौँ ।
    सम्बन्धहरू भताभुङ्ग हुँदै जाँदा समाजमा एक्लोपन, निराशा र संस्कारहीनता बढ्दै गएको छ । यदि हामीले हाम्रा यी मौलिक शब्द र नातालाई बचाउन सकेनौँ भने, भोलिको पुस्ताले आफ्नै रगतको सम्बन्धलाई पनि चिन्न छाड्नेछ ।
    समय सापेक्ष आधुनिक बन्नु नराम्रो होइन, तर आधुनिक बन्ने बहानामा आफ्ना जराहरू काट्नु बुद्धिमानी होइन । अब हामीले सोच्ने बेला आएको छ । घरबाटै सुरुवात गरौँ, हाम्रा छोराछोरीलाई सानैदेखि नेपाली नाताका शब्दहरू प्रयोग गर्न सिकाऔँ । मामा, माइजू, काका, काकी, फुपु, पुसाइँ जस्ता शब्दहरू उनीहरूको मुखबाट उच्चारण गराऔँ ।  अङ्ग्रेजी शब्द बोल्दैमा ठुलो भइने भ्रमबाट मुक्त बनौँ । हाम्रा रैथाने शब्दहरूमा जुन आत्मीयता र आदर छ, त्यो संसारका कुनै भाषामा फेला पर्दैन। चाडबाड र पारिवारिक जमघटहरूमा नाताको मर्यादा र महत्वबारे नयाँ पुस्तालाई बुझाउने कोसिस गरौँ ।
    हाम्रो पहिचान हाम्रा संस्कार र नातागोतामै टिकेको छ । प्रकृतिलाई पुज्ने हामी सनातन धर्मीहरूले मानिस—मानिसबीचको यो सुन्दर सम्बन्धको सञ्जाललाई सङ्कुचित हुन दिनु हुँदैन । सासू ससुरा कहिलेइ आमा बाबू को स्थान लिन सक्दैन्न  आउनुहोस्, सम्बन्धका यी अमूल्य शब्दहरूलाई फेरि जीवित पारौँ, हराउँदै गरेको आत्मीयतालाई घर — घरमा फर्काऔँ र आफ्नो संस्कारमाथि गर्व गरौँ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij