२०८३, भाद्र ३१ गते

Sep 16 2026

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा, पहिलो खेलमै एनटी स्ट्राइकसँग भिड्दै

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा, पहिलो खेलमै एनटी स्ट्राइकसँग भिड्दै

रोज नेपाल
शुक्रवार, भाद्र ५ २०८३
रोज नेपाल
शुक्रवार, भाद्र ५ २०८३
  • काठमाडौं । नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले अस्ट्रेलियामा आयोजना भइरहेको टप एन्ड टी–२० सिरिजमा आज आफ्नो पहिलो खेल खेल्दैछ। प्रतियोगिताको उद्घाटन खेलमा नेपालले घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइक (एनटी स्ट्राइक) को सामना गर्न लागेको हो।

    डार्विनस्थित मरारा क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ। नेपालले यस प्रतियोगितामा दोस्रोपटक सहभागिता जनाउन लागेको हो।

    गत संस्करणमा नेपालले सिनियर टोलीमार्फत प्रतियोगिता खेलेको थियो। त्यस क्रममा लिग चरणका ६ खेलमध्ये नेपालले दुई खेलमा जित निकाल्दा चार खेलमा पराजय बेहोरेको थियो।

    यसपटक भने नेपाल ‘ए’ टोलीलाई अघिल्लो प्रदर्शन सुधार गर्दै प्रतियोगिताको अर्को चरणमा पुग्ने लक्ष्य छ। टोलीलाई बलियो बनाउन नेपाल क्रिकेट संघ (क्यान)ले सिनियर राष्ट्रिय टोलीमा खेलिसकेका केही अनुभवी खेलाडीलाई समेत ‘ए’ टोलीमा समेटेको छ।

    कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल र गुलशनकुमार झा नेपाल ‘ए’ टोलीमा रहेका प्रमुख खेलाडी हुन्। यीमध्ये अधिकांशले अघिल्लो संस्करणमा समेत टप एन्ड टी–२० सिरिज खेलेका थिए।

    नेपाल र एनटी स्ट्राइकबीचको यो दोस्रो भेट हो। गत संस्करणमा भएको खेलमा एनटी स्ट्राइकले नेपाललाई ४२ रनले पराजित गरेको थियो। त्यसैले आजको खेल नेपाल ‘ए’ का लागि पुरानो हारको बदला लिँदै प्रतियोगितामा सुखद सुरुवात गर्ने अवसरका रूपमा हेरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij