काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि अधिकांश भू–भागमा बदलीसहित वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ।
हाल कोशी र मधेशसहित बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने मौसम मुख्यतः सफा छ। कोशीका हिमाली क्षेत्रमा केही स्थान तथा बागमती र गण्डकीका हिमाली भू–भागका एकदुई ठाउँमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
दिउँसो देशभर सामान्यतया बदली रहने अनुमान छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। पहाडी भू–भागका पनि केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
तराईतर्फ बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेश, कोशी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा एकदुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
रातिको समयमा पनि देशभर बदली रहने सम्भावना छ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका हिमाली–पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा वा हिमपात हुन सक्नेछ।
तराई क्षेत्रमा पनि वर्षाको सम्भावना कायमै रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान तथा मधेश र सुदूरपश्चिमका थोरै स्थानमा राति मेघगर्जनसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ। कोशी प्रदेशका पहाडी तथा तराई भू–भागका एकदुई स्थानमा भने भारी वर्षा हुनसक्ने जनाइएको छ।
महाशाखाले विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो, गेग्रान बहाव र भू–क्षयको जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ।
वर्षाका कारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातका साथै उद्धार र राहतका कामसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन र मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा हेर्न महाशाखाले अनुरोध गरेको छ।